उदयपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह उदयपुरले प्रधानमन्त्री केपी ओलीलाई संसद विघठनमा प्रयोग गरिएको संविधान धारा पुनः अध्ययन गर्न संविधान पठाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेल मार्फत् प्रधानमन्त्री कार्यालयमा पुग्ने गरी पठाइएको हो । संसद विघटनको असंवैधानिक कदम सच्याउनुपर्ने मागसहित संविधान पठाइएको हो ।

ओलीले संविधान अध्ययन नगरी संसद् विघटन गरेको भन्दै अध्ययनका लागि संविधानको धाराको प्रतिलिपी पठाइएको नेकपा जिल्ला कमिटी अध्यक्ष विनोद कटुवाल (दिवस)ले जानकारी दिए ।
नेकपा अध्यक्षसमेत रहेका ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा १, २, ३, ४, ५, ६ र ७ अध्ययन गर्न प्रचण्ड–नेपाल समुह उदयपुरले आग्रह गरेको छ ।

लोकतान्त्रिक चोकमा जम्मा भेला भएर जिल्ला अध्यक्ष कटुवाल, सचिव इश्वरमणि राउत, प्रदेश सदस्य राजन किराती, पुस्तकालय अभिलेख शाखा सदस्य राजकुमार राई लगायत जिल्ला, नगरका नेता कार्यकर्ता प्रशासन कार्यालय पुगेका थिए ।

यता सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले तत्कालै प्रधानमन्त्री कार्यालय पठाउने बताएका थिए । ‘हामीले जस्ताको तस्तै पठाउने छौँ,’ उनले भने ।

केन्द्रिय संघर्ष समितिको दोस्रो चरणको कार्यक्रम अन्तर्गत विरोध कार्यक्रम गरिएको जिल्ला सचिव राउतले जानकारी दिए ।

तपाईको प्रतिक्रिया