उदयपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघठन गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्र देखि प्रदेश, जिल्ला हुँदै स्थानीय तहसम्म दुई समूहमा विभाजन भएको छ । नेकपा बेलका नगर स्तरीय कार्यकर्ता भेला तथा बैठक कार्यक्रममा प्रचण्ड नेपाल समूहका दुई तिहाई बढी नगर कमिटीका सचिवालय तथा सदस्यहरुको उपस्थित रहेको थियो । बेलका नगर कमिटीमा ८१ सदस्य मध्ये अध्यक्ष सहित ६० भन्दा बढी सदस्यको उपस्थिति रहेको थियो । यस्तै बेलका नगर कमिटीमा २७ सचिवालय मध्ये २१ जना प्रचण्ड नेपाल समूहका रहेका छन् । भेलामा २ सय ५० भन्दा बढी नेता कार्यकर्ताको उपस्थिति रहेको थियोे ।

कार्यक्रमको प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य तथा प्रदेश १ का सचिव सुरेशकुमार राई (हिमाल), विशेष अतिथिहरु क्रमः नेकपा केन्द्रीय सदस्य तथा पुर्व सांसद जगनाथ खतिवडा, नेकपा केन्द्रीय सदस्य तथा उदयपुर ईन्चार्ज बलदेव चौधरी, प्रदेश समिति सदस्य राजन किराती ‘वासु’, जिल्ला कमिटीका अध्यक्ष विनोद कटुवाल, सचिव ईश्वरमणि राउत, नेकपा प्रदेश र जिल्ला कमिटीका सदस्यहरूले लगायतले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरोध गरेका थिए । उनीहरुले केपी ओली पतनको बाटो रोजेकोले कार्यकर्ताहरुले पतनको बाटो नरोज्न आग्रह गरेका थिए ।वक्ताहरुले चुनाव चिन्ह सूर्य र झण्डा बहुमत केन्द्रीय सदस्य प्रचण्ड नेपाल समूहले पाउने बताए । वक्ताहरुले यस अघि नेकपा एमाले पार्टी फुट्दा एमाले र माले हुँदा पनि बहुमत केन्द्रीय भएको पक्षमा चुनाव चिन्ह सूर्य निर्वाचन आयोगले दिएमा नेकपामा प्रचण्ड नेपाल पक्षले नै चुनाव चिन्ह सूर्य र झण्डा पाउने बताए ।

संघीय लोकतन्त्र गणतन्त्रको रक्षार्थ र धर्म निरपेक्ष, समानुपातिक समावेशी नीति लगायत आम नागरिकहरुको अधिकारहरुलाई स्थापित र संस्थागत गर्नको लागि पनि विचल्लित नभई निरन्तर पार्टीको अग्रगामी विचारमा अडिक रहन वक्ताहरुले सुझाएका थिए । नागरिकको अधिकारहरुमा पुनः खतराको संकेत देखिएकोले सचेत रहन र सरकारको असंवैधानिक कदम, प्रतिगमन विरूद्ध एक हुन पनि वक्ताहरूले  आग्रह गरेका थिए ।

वेलका नगर कमिटी अध्यक्ष मनोज तामाङको अध्यक्षतामा कार्यक्रम भएको थियो । नगर स्तरीय भेला आदिवासी जनजाति नगर समितिको हलमा भएको थियो ।

तपाईको प्रतिक्रिया