उदयपुर । पार्टी भित्र चरम अल्पमतमा परेर कारबाही भोग्नु पर्नेभएपछि प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले जथाभावि केन्द्रीय सदस्य थप गरेको पाइएको छ ।
नेकपा एकता हुँदा बनेको ४ सय ४१ सदस्यीय केन्द्रीय समितिमा करिब सय जनामात्रै आफ्नो समूहमा भएपछि ओलीले मंगलबार केन्द्रीय समिति एकलौटी विस्तार गर्दै १ हजार १ सय ९९ जनाको आयोजक समिति बनाउने घोषणा गर्नुभएको थियो ।
ओलीले घोषणा गरेको आयोजक केन्द्रीय सदस्यहरुमा कतिले अस्विकार गरेको छ भने कतिले जिल्लाका नेताहरुले नमान्ने पक्षमा रहेको देखिन्छ ।
उदयपुरमा केपी ओलीले मनोनित गरेको केन्द्रीय सदस्य पद कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ (काजी) अस्विकार गर्नु भएको छ । ‘मलाई नसोधी केन्द्रीय समितिमा नाम राखेको भन्दै सामाजिक संजालहरुमा देखिरहेको छु,’ मेयर श्रेष्ठले भने, ‘त्यसलाई मैले अस्वीकार गरेको छु ।’ मेयरले नागरिक बहससँगको टेलिफोन वार्तामा भने, ‘के को बधाई भन्दै नामै आएर बधाई हुन्छ, जाँदै नगएकोमा के को बधाई ।’ कटारी नगरप्रमुख श्रेष्ठ पूर्व एमाले जिल्ला उपाध्यक्ष तथा हाल सचिवालय सदस्य हुन् ।
आयोजक समितिमा उदयपुरबाट मणिराज पौडेल, बेदप्रसाद पोखरेल, पदम राई, दुर्गाकुमार थापा, विमल कार्की, अम्बिका थापा र शैलेस लामालाई मनोनयन गरिएको छ ।
आयोजक समितिमा पर्ने पौडेल तत्कालीन नेकपा (एमाले) उदयपुरका सचिव हुन् । पोखरेल र राई तत्कालीन जिल्ला विकास समिति सभापति र उपसभापति हुन् भने थापा जिल्ला सचिवालय सदस्य तथा बेलका नगरप्रमुख हुन्। कार्की पार्टी एकीकरणअघिको एमाले जिल्ला उपाध्यक्ष तथा प्रदेश १ (क) का सांसद हुन् भने समानुपातिक प्रदेश सांसद अम्बिका थापा अनेम संघ केन्द्रीय सदस्य हुन् । लामा अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष हुन् ।









