काठमाडौं । संवैधानिक परिषदले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा गरेको नियुक्ति सिफारिसविरूद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ । मंगलबार आफूले सर्वोच्च अदालतमा रिट पेश गरेको रिट निवेदक सुलभ खरेलले जानकारी दिए ।
संवैधानिक परिषदले संसदीय सुनुवाइविनै नियुक्ति सदर गर्ने बदनियतका साथ अख्तियारलगायत विभिन्न संवैधानिक निकायमा ४५ जना पदाधिकारी सिफारिस गरेको जिकिरसहित आफूले रिट दिएको खरेलले बताए ।
संवैधानिक परिषदका बहुमत सदस्यले सिफारिस गर्न सक्ने अध्यादेश अनुसार मंसिर ३० गते प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा र राष्ट्रियसभा सदस्य गणेशप्रसाद तिमिल्सिनाले ४५ जना पदाधिकारी नियुक्ति सिफारिस गरेका थिए ।
गत मंसिर ३० गते भएको निर्णय पुस ५ गते बल्ल सार्वजनिक भएको थियो ।
‘हामीले अन्तरिम आदेशद्वारा त्यसलाई बदर गर्न माग गरेका छौं । संसदीय सुनुवाइलाई छलेर स्वतः नियुक्त गर्ने बदनियतका साथ सिफारिस भएकाले अन्तरिम आदेशबाट बदर गर्न पर्छ भन्ने हाम्रो जिकिर हो,’ उनले भने ।
परिषद्ले गरेका निर्णयहरु अब संसदीय सुनुवाइ बेगर नै अगाडि बढ्नेछन् । तर नियुक्तिका लागि ४५ दिनसम्म कुर्नुपर्नेछ ।









