काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले अब संवैधानिक परिषद् नभएर ओली परिषद् भएको बताएका छन् । संवैधानिक परिषद् सम्बन्धी नयाँ अध्यादेश जारी गरेर परिषद्को बैठकको मार्ग खुलाएको प्रति टिप्पणी गर्दै नेता भट्टराईले यस्तो बताएका हुन् ।
सामाजिक सञ्जालमा ट्विटरमा ट्विट गर्दै डा. भट्टराई लेखेका छन्, ‘ त्यसै त निम्छरा संवैधानिक आयोग, अब अध्यादेश मार्फत बनेको तीन जनाको ओली परिषद्ले ओलीका खल्तीबाट निस्केका नाम राखेर भरेपछि कस्तो बन्लान् ? त्यत्रो वलिदान मार्फत स्थापित गणतन्त्रको चीरहरण गरेर प्रतिगमनको आधार तयार गरिनै लागेको हो त ? अर्को विनाशकारी अध्यादेश अघि नै संसद अधिवेशन बोलाऊ ।’
त्यस्तै डा. भट्टराईले अर्को ट्विटमा लेखेका छन्, ‘सबैले आत्मसमीक्षा गरौँ–विपक्षी दलका पहिलो राष्ट्रपति मन्त्री परिषद्ले पारित गरेका कुनै अध्यादेश जारी नगरेर निर्वाचित सरकारलाई असफल पार्ने, सत्ताधारी दलकी दोस्रो राष्ट्रपति प्रधानमन्त्रीको लहडको अध्यादेशलाई मिनेटमा जारी गर्ने, कतै पहिलो राष्ट्रपति पदका जायज हकदार स्वतन्त्र व्यक्ति राम राजाको सराप त लागेको होइन ।’









