उदयपुर । प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसका प्रदेश नं. १ का प्रमुख सचेतक केदार कार्कीले सरकारको कामकाज प्रति आलोचना गर्दै सरकार ओम्नी गु्रप, यति ग्रुपदेखि सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएकाहरुले निजी सरह सरकार बनाएको आरोप लगाएका छन् । देशव्यापी रुपमा मंसिर २९ गते सरकार विरुद्ध विशाल विरोध प्रदर्शन गर्ने क्रममा उदयपुर आईपुगेका कार्कीले यस्तो आरोप लगाएका हुन् ।
कोरोना महामारीमा औषधि खरिदको नाममा सरकारले ओम्नी ग्रुपमार्फत होस वा नेपाली सेनामार्फत करोडौ रकम घोटाला गरेको आरोप प्रमुख सचेतक कार्कीले लगाए ।
यस्तै राहदानी, बैंक नोट र स्मार्ट कार्ड नेपालमै छाप्न सेक्युरिटी प्रिन्टिङ प्रेस (सुरक्षित मुद्रण प्रेस) खरिद प्रकरणमा तत्कालिन सूचना तथा संचार मन्त्री गोकुल बास्कोटा ७० करोड कमिशनमा मुछिएकाहरुको पक्षमा रहेको आरोप लगाए ।
‘विरामी हुँदा छटपटाउँदै अस्पताल खोज्दा पनि सरकार भेटाइएन, लकडाउन गरेर हामीलाई घर भित्र थुन्दा भोकै छटपटाउदा सरकार देखिएन, काठमाडौंबाट मजदुरहरु खाली खुट्टा घर फर्किने क्रममा मनकारी मान्छेले दाया गरेर दिएको चाउचाउको भरमा उदयपुर लगायत अन्य ठाउँमा फर्केको पक्षमा सरकार भेटाएनन ।’ प्रमुख सचेतक कार्कीले भने, ‘दिन दाहाडै बलात्कार हुँदा पनि पीडित महिला दिदी बहिनीहरुले न्याय माग्न जाँदा पनि सरकार भेटाउन सकेनन, न किसानले सरकार भेटाए, न युवा विद्यार्थीले सरकार भेटाए, न बुद्धिजिवीहरुले सरकार भेटाए ।’
सरकारले गरेका बिभिन्न काम कार्वाही चित्त बुझ्दो नरहेको र सरकार सच्चीनलाई अनेकौँ अबसरहरु दिँदा पनि खेर फालेको हँदा नेपाली काँग्रेस बाध्य भएर सडकमा सरकारको विरोध गर्नु पर्ने अवस्था आएको प्रमुख सचेतक कार्कीले आरोप लगाए ।
बरिष्ट नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिई दुव्र्यवहार गरेपछि सरकारको विरुद्धमा काँग्रेस देशव्यापी विरोधमा उत्रिएका छन् ।
कम्युनिष्ट सरकारले देशमा भ्रष्टचार, बलत्कार, अन्याय अत्याचारलाई संरक्षण गरिरहेको अवस्थामा बरिष्ट नेता पौडेललाई दुव्र्यवहार गर्नु सरकारले थप गल्ती गरेको आरोप लगाएका थिए ।
कोण सभालाई नेपाली कांग्रेस उदयपुरका सभापती विदुर बस्नेत, संघिय संसद प्रमिला राई, कांग्रेसका पूर्व जिल्ला सभापती तथा प्रदेश नम्बर १ का संसदीय दलका उप नेता हिमाल कार्की, उदयपुर क्षेत्र नम्बर १ का क्षेत्रीय सभापती भोजराज खतिवडा सह सभापती बसन्तकुमार बस्नेत, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापती रामकुमार खत्री लगायतले कार्यक्रमलाई सम्बोधन गरेको थियो । वक्ताहरुले अहिलेको सरकारको कुनै पनि काम चित्त बझ्दो नभएको र जनताहरुमा स्वतन्त्रता न्याय प्रतिकोे खडेरी रहेको बताएका थिए ।
भ्रष्ट नेताहरुलाई केपी शर्मा ओलीले संरक्षण गरी देशमा भ्रष्ट सरकार मौलाएको समेत बक्ताहरुले आरोप लगाए ।
नेपाली कांग्रेस उदयपुरको आयोजनामा गाईघाटमा पनि विरोध र्याली सहित पिपलचोकमा सरकारको काम कार्वाहीको आलोचना गर्दै विरोध गरेका हुन् ।
उदयपुरमा ८ वटै पालिकाहरुबाट नेपाली कांग्रेसको जमात र सहभागी रहेको नेपाली कांग्रेस उदयपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया