लहान । सिरहाको लहानमा झारफुकको बाहानमा मुस्लिम धर्मगुरु (मौलवी) ले एक युवतीलाई बलात्कार गरेका छन् । मिर्चैया नगरपालिका–१० घर भई हाल लहान नगरपालिका –१० ग्रामीण चोकमा बस्दै आएका ३५ वर्षिय मुस्लिम धर्मगुरु (मौलवी) मोहमद अली हसनले सोही नगरपालिका ७ की २३ वर्षिय युवतीलाई झारफुकको बहानामा बलात्कार गरेको घटना सार्वजनिक भएको हो ।
मंगलबार दिउँसो ती युवतीलाई झारफुक गराउन गएको बेला धर्मगुरुले बलात्कार गरेको पीडितका आफन्तले बताएका छन । युवतीको बयानका आधारमा मंगलबार राति नै हसनलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कारपछि रक्तश्राव हुँदा गम्भीर बनेकी युवतीको लहानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । पीडित युवती र हसनको मंगलबार राति नै लहान अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाइएको छ ।
ग्रामीण चोकस्थित धर्मगुरुको घरमा झारफुकका लागि मंगलबार दिउँसो २ बजेतिर आफन्तसहित गएकी किशोरीलाई ढोका थुनेर आधा घन्टापछि निकालेको आफन्तको आरोप छ । धर्मगुरुको घरबाट निस्किएपछि हतास देखिएकी युवतीले घरमा पुगेर आफूलाई बलात्कार गरेको र रक्तश्राव भईरहेको बताएकी थिइन् । त्यपछि परिवारजन धर्मगुरुको घरमा पुगेर कुटपिट गर्दै प्रहरीलाई खबर गरेका थिए । धर्मगुरु माथि जबर्जस्ती करणी मुद्दामा सरकारी वकिल कार्यालय सिरहामार्फत (अदालतबाट) ५ दिनको म्याद लिई अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

तपाईको प्रतिक्रिया