सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिका–५ परेमारामा आइतबार एउटा जंगली हात्ती मृत फेला परेको छ । बिजुली बत्तीको करेन्ट लागेर परेमारा गाउँदेखि पूर्व धानखेतमा हात्ती मृत भेटिएको छ ।

११ केभीको विद्युत् प्रसारण लाइनको तारमा अल्झिएको अवस्थामा हात्ती मृत भेटिएको कोशी टाप्पु वन्यजन्तु आरक्ष कार्यालय कुशहा, सुनसरीका सहायक वार्डेन सन्तोष भगतले जानकारी दिए ।
‘नजिकै रहेको कोशीटप्पु वन्यजन्तु आरक्षको जंगलबाट आएर गाउँमा मृत अवस्थामा हात्ती भेटिएको हो’, उनले भने, ‘हात्तीको शरीरले बिजुलीको तार किचिएर पोलसमेत झुकेको छ ।’ उनले हात्तीको अन्य कुनै भागमा चोटपटक नभएको जनाउँदै करेन्टकै कारण मरेको हुनसक्ने बताए ।

मृत हात्तीलाई कानूनी प्रक्रिया पूरा गरेर मरेकै स्थानमा खाल्डो खनेर गाडिने सहायक वार्डेन भगतले बताए ।

विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख रोशन सिंहका अनुसार हात्तीले ३३ हजार केवी प्रशारण लाइनको पोलमा समत क्षति गरेको छ । राति करिब २ बजेदेखि नै कञ्चनरुप-सप्तकोशी- बेल्टार लगायतका क्षेत्रमा बत्ती छैन ।

प्रमुख सिंहका अनुसार तत्काल पोल झुकेको र तारसमेत चुडिएको कारण विद्युत अवरुद्ध भएको छ । आज साँझसम्म भारदहबाट विद्यतु जोडिएपनि राति विद्युत अवरुद्ध हुन सक्ने छ ।

हाात्ती मरेको खबर पैmलिएपछि सयौंको संख्यामा हात्ती हेर्नेको भिड लागेको छ । कञ्चनपुर–फत्तेपुर सडकसमेत जाम हुनेगरी गाउँ–गाउँबाट मान्छेहरु मरेको हात्ती हेर्न र हात्तीसँगै सेल्फी खिच्न थालेको छ ।

तपाईको प्रतिक्रिया