लहान । सिरहामा छठको घाटबाट एक युवक हतियारसहित पक्राउ परेका छन् । शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिइरहँदा औरही गाउँपालिका ५ बाट हतियारसहित एक जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा औरही गाउँपालिका ५ कै २२ वर्षीय रबीन दास रहेका छन् । दासलाई सोही वडाका एक पोखरीबाट हतियारसहित पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता शालिग्राम शर्माले बताए ।

दासको साथबाट एक राउण्ड गोली लोड भएको अवस्थामा एउटा कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने थप २ राउण्ड गोली बरामद गरिएको शर्माले बताए । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

रबीनले आफ्ना एकजना छिमेकीमाथि आक्रमण गर्ने योजनाअनुसार पेस्तोलसहित छठ घाटमा गएको सूचनाअनुसार प्रहरीले उनलाई पक्राउ गरेको हो । ती छिमेकीसँग उनको पुरानो रिसइबी रहेको स्थानीय बताउँछन् ।

तपाईको प्रतिक्रिया