उदयपुर । उदयपुरमा जुवा खेलेको आरोपमा शनिबार राति साढे दुई बजे ९ जना पक्राउ परेको छ । त्रियुगा नगरपालिका १० करमगाछी स्थित प्रेम भट्टराईको घरमा जुवा खेलि रहेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट बिशेष प्रहरी टोलीबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ११ बस्ने ४९ वर्षिय प्रेम भट्टराई, सोही वडा बस्ने ४० वर्षिय राजन कुमार राउत, अर्का ४१ वर्षिय मेख बहादुर राई, ४० वर्षिय मन्दिप राई रहेका छन् ।
यस्तै त्रियुगा नगरपालिका १० का २० वर्षिय ईश्वर खड्का, त्रियुगा नपा १२ बस्ने ४५ वर्षिय बल बहादुर कार्की, त्रियुगा नपा १ बस्ने ४० वर्षिय नबिन राई, त्रियुगा नपा ८ बस्ने ४२ वर्षिय पुरुषोत्तम कार्की र त्रियुगा नपा ३ बस्ने २९ वर्षिय सुनिल चौधरी पनि जुवाको खालबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी तथा सूचना अधिकारी बेदप्रसाद गौतमले जानकारी दिए ।

जुवाको खालबाट कौडा १९ थान, तास १ बुङ, नगद २ लाख ४७ हजार एक सय १७ रुपैया, कृषि विकास बैंकको १ लाख र नबिल बैंकको २ लाख १० हजारको काटेको चेक बरामद गरेको डिएसपी गौतमले जानकारी दिए ।

यस्तै उनीहरुको साथबाट मोबाईल १७ थान, मोटरसाइकलको चावी ६ थान, सुनको सिक्री २ थान, सुनको औंठी ३ थान पनि बरामद गरेको प्रहरीले जानकारी दिए ।

जुवा खाल बाट मोवाईल छोडेर २ जना फरार रहेको प्रहरीले जनाएको छ । उनिहरुको खोजकार्य जारी रहेको पनि प्रहरीले जनाएको छ । पक्राउ परेका ९ जनालाई भने प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय उदयपुरका डिएसपी बेद प्रसाद गौतमले जानकारी दिए ।

तपाईको प्रतिक्रिया