राजेन्द्र महतो, लहान । सिरहामा ६ लाख ८४ हजार नक्कली नेपाली नोट सहित ३ जना विहिबार पक्राउ परेको छ । गोलबजार नगरपालिका ६ स्थित विरेन्द्र महतोको घरमा डेरा गरी बस्नेहरुबाट ६ लाख ८४ हजार नक्कली नेपाली नोट सहित पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सिरहा कल्याणपुर नगरपालिका ७ भेडिया बस्ने २५ वर्षिय बिमलेन्द्र नायक, गोलबजार नगरपालिका १२ बेतौना बस्ने २५ वर्षिय धिरज राय र अर्का सोही ठाउँका २० वर्षिय संजय कुमार राय रहेको प्रहरीले जनाएको छ । गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गोलबजार र सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश गोलबजारको संयुक्त टोलीले नक्कली नेपाली नोट बनाईरहेको सूचनामा नक्कली नोट, ल्यापटप, प्रिन्टर लगायतका सामग्री समेत बरामद गरेको छ ।
एक हजार दरका नक्कली नेपाली नोट ६ सय ८४ थान, एचपी कम्पनीको ल्यापटप १ थान, क्यानन कम्पनीको प्रिन्टर १ थान, प्लाष्टिकको फोल्डिङग सानो टेबल १ थान, स्टिलको स्केल ३ थान, कैची २ थान र मोटर साइकल १ थान समेत उनीहरुबाट बरामद गरिएको छ । नक्कली नोट कारोबारीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय गोलबजार ल्याईएको छ ।

तपाईको प्रतिक्रिया