उदयपुर । संविधानसभाका पूर्वसदस्य मानपुर चौधरीको कोरोना संक्रमणबाट मंगलबार निधन भएको पुष्टि भएको छ । सप्तरी, कञ्चनरुप नगरपालिका –४ जगतपुर निवासी चौधरीको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

ज्वरोबाट पीडित ५९ वर्षीय चौधरीलाई सास लिन कठिनाइ भएपछि असोज तेस्रो साता उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले बताए । ज्वरो, खोकी, कमजोरी तथा स्वासप्रस्वासको समस्याले पिरोलिएका चौधरीको कोशी अस्पतालमा गरिएको पिसिआर परिक्षणमा आईतवार मात्रै उनको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।

रिपोर्ट नेगेटिभ आएपछि घर फर्केका चौधरीको स्वास्थ्यमा सुधार नभएपछि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरी ८ घण्टासम्म अक्सिजन दिएर राखिएको थियो । सास फेर्न गाह्रो भएपछि गत असोज २ गते राति थप उपचारका लागि उहाँलाई बिपी प्रतिष्ठान लगिएको थियो । सोही दिन उनको स्वाब संकलन गर्दा असोज ३ गते रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । चौधरी मधुमेह र उच्च रक्तचापबाट समेत पीडित थिए ।

असोजमा काठमाडौं गएको समयमा ज्वरो आएको थियो । दुई साताको अन्तरालमा दुई पटक कोरोना परीक्षण गराउँदा उनमा पहिलो पटक नेगेटिभ र दोस्रो पटक पोजेटिभ देखिएको थियो । कोरोना पोजेटिभ आएपछि प्रतिष्ठानको आइसोलेशनमा उपचारकै क्रममा उनको आज मृत्यु भएको नगर प्रमुख वसन्तकुमार मिश्रले बताए ।

उहाँको शब नेपाली सेनामार्फत सम्भवत आजै कोशी नदीको किनारमा अन्त्यष्टि गरिनेका कार्यक्रम तय भएको ज्वाई आशाराम चौधरीले नागरिक बहसलाई बताउँनु भयो । चौधरी तत्कालिन नेकपा माओवादी केन्द्र बाट सप्तरी क्षेत्र नं. १ बाट संविधानसभाका निर्वाचित सांसद हुनुहुन्थ्यो ।

राजनीतिक यात्रा
मानपुर चौधरीको जन्म बिसं २०१८ साल फागुन १० गते सप्तरीको जगतपुर ५ मा भएको हो । उहाँका बाबुको नाम विहारी चौधरी र आमाको नाम माहिल्यवती चौधरी हो । उहाँका ५ छोरा र १ छोरी छन् ।

एसएलसीसम्म अध्ययन गरेका चौधरी हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) २ नं. प्रदेश कमिटी सदस्य समेत हुनुहुन्छ । उहाँ २०२६ सालमा नेकपा पुष्पलाल समूहबाट राजनीतिमा प्रवेश गर्नुभएको थियो । उहाँ २०६५ सालमा एकीकृत नेकपा माओवादीमा प्रवेश गर्नुभएको हो ।
त्यसअघि उहाँ २०६३ सालमा नेकपा एमाले, सप्तरी जिल्ला अध्यक्ष हुनुहुन्थ्यो भने २०५४ सालमा सप्तरी जिल्ला विकास समितिको सदस्य भएर पनि काम गर्नुभएको थियो । २०६४ सालको संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर १ मा स्वतन्त्र रुपमा चुनाव लडेका चौधरी ७ हजार ६ सय ३७ मत ल्याउँदै तेश्रो हुनु भएको थियो ।

चौधरी २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालिन नेकपा माओवादीबाट सप्तरी क्षेत्र नम्बर १ बाट ९ हजार ८ सय ४४ मत प्राप्त गरी निर्वाचित भएका थिए ।

तपाईको प्रतिक्रिया