उदयपुर । उदयपुरका जिल्ला समन्वय समितिका संयोजक सहित १६ जना बुधबार कोरोनामुक्त भएर घर फर्किएका छन् । जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्ग बहादुर परियार, बेलका नगरपालिकाका मेयर दुर्गा कुमार थापा (स्वतिक) लगायत १६ जना कोरोना मुक्त भएका हुन् ।
चौदण्डीगढी नगरपालिका वडा नं. ६ स्थित सातधारेमा रहेको उदयपुर कोभिड १९ अस्पतालमा संक्रमण पुष्टि भएपछि १५ दिन अघि आईसोलेसन सेन्टरमा भर्ना भएका थिए ।
विभिन्न क्षेत्रबाट उपचारमा आएका १२ पुरुष र ४ महिलालाई बुधबार दिउँसो चौदण्डीगढीका नगरप्रमुख खगेन्द्र राई, उपमेयर रिताकुमारी चौधरी लगायतले विदाई गरेका छन् ।
त्यसैगरी उदयपुरमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कार्तिक २ मा २३ जनाको स्वाव संकलन गरिएका चौदण्डीगढी नगरपालिका वडा नं. ४ का ५९ वर्षीय एक वृद्ध र वडा नं. २ की २२ वर्षिय महिलामा संक्रमण पुष्टि भएको छ ।
छिमेकी नगरपालिका बेलका वडा नं. ५ का ४१ वर्षीय पुरुष, त्रियुगा नपा ७ का ४६ वर्षीय पुरुषगरी ४ जनामा कडा लक्षण देखा परेको नगर स्वास्थ्य शाखाले जनाएको छ ।
यहाँको कोभिड १९ अस्पतालमा हाल ११ जना पुरुष र ८ जना महिला गरी कूल १९ जना उपचाररत छन् । भने एक जना पुरुष होम आइसोलेशनमा रहेको पनि स्वास्थ्य कार्यालयले जनाएको छ ।
नगर क्षेत्रभित्र कडा लक्षणहरु भएको संक्रमितहरु फेला पर्न थालेकोले सबै नगरबासीलाई बिशेष साबधानी अपनाउन र स्वास्थ्यका मापदण्ड अपनाउन नगरपालिकाले अनुरोध गरेको छ ।
उदयपुरमा कोरोना संक्रमितको संख्या २ सय ८ पुगेको छ ।

तपाईको प्रतिक्रिया