उदयपुर । उदयपुरका एक पाँच वर्षिय बालिका कोभिड–१९ भाइरसलाई पराजित गरेर घर फर्केकी छन् । उनी ६ दिन मै कोरोनालाई जितेर बुधबार घर फर्किएकी छिन् ।
रामपुर स्वास्थ्य चौकीका अहेव बुबा किशोर श्रेष्ठको कन्ट्राक्ट ट्रेसिङको आधारमा गत असोज २१ गते उनी र ३४ वर्षिय आमामा कोरोना संक्रमण देखिएको थियो ।

बेलका नगरपालिकाका उपमेयर राजकुमारी चौधरीले कोरोनामुक्त ५ वर्षिय बालिकासहितलाई सवैलाई बधाई दिँदै । तस्विर : उपमेयर चौधरीको फेसबुकबाट

५ वर्षिय बालिका र बुबा कोरोनामुक्त भएपनि आमा भने अझै चौदण्डीगढी नगरपालिका ६ सातधारेको उदयपुर कोभिड-१९ अस्पतालमा उपचाररत छिन् ।
उनीहरुको पिसिआर असोज २६ गते संकलन गरेर विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाएकोमा ५ वर्षिय बालिका, ३ पुरुष र ६ महिला सहित १० जनाको रिपोर्ट नेगेटिभ आएको चौदण्डीगढी नगरपालिकाका स्वास्थ्य संयोजक तेजबहादुर पोखरेलले जानकारी दिए ।
रिपोर्ट नेगेटिभ आएकाहरुलाई असोज २८ गते चौदण्डीगढी नगरपालिकाका प्रमुख खगेन्द्र राईले विदाई गरेका थिए ।
यस्तै २६ गते ५ वर्षिय बालिकासँगै स्वाब दिएका उदयपुर कोभिड-१९ अस्पतालमा उपचाररत जिल्ला समन्वय समितिका संयोजक खड्ग बहादुर दर्लान (परियार), बेलका नगरपालिकाका मेयर दुर्गा कुमार थापा (स्वस्तिक) लगायत अन्यको रिपोर्ट भने पोजिटिभ नै देखिएको छ । अहिले उदयपुर कोभिड-१९ अस्पतालमा ८ महिलासहित २६ जना उपचाररत रहेका छन् ।

तपाईको प्रतिक्रिया