खोटाङ / सुन्तला ब्लक क्षेत्र विस्तार कार्यक्रमको बजेट हिनामिना भएपछि सार्वजनिक सुनवाई गर्दै दिप्रुङ चुईचुम्मा गाउँपालिका । खोटाङ- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बजेटमा व्यापक अनियमितता भएको पाईएको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिकास्थित वडा नम्बर–१ याम्खा, वडा नम्बर–२ डाडाँगाउँ र वडा नम्बर–३ छोरम्बुलाई समेट्ने गरि सुन्तला ब्लक क्षेत्र विस्तार कार्यक्रमको बजेटमा अनियमितता भएको पाईएको हो ।

कृषि ज्ञान केन्द्र दिक्तेल अन्तरगतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रममार्फत उक्त वडामा सुन्तला ब्लक क्षेत्र विस्तारका लागि आर्थिक वर्ष २०७६-०७७ मा छुट्टिएको ३५ लाख बजेटमध्ये २८ हजार ४ सय निकासा भएको र १२ लाख रूपैयाँ अनियमितता भएको पाईएको हो ।परियोजनाको ३५ लाख र कृषकहरूबाट ३५ लाख गरि ७० लाखमा तीन वटा वडामा सुन्तला ब्लक क्षेत्र विस्तार कार्यक्रम लागु गरिएको थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रममार्फत छुट्टिएको ३५ लाखमध्ये १२ लाख सुन्तला ब्लक संचालन समितिका अध्यक्ष छोरम्बु घर भएका लक्ष्मी कुमार राई र सचिव मनोज राईले हिनामिना गरेको खुलासा भएको हो ।

मंगलबार गाउँपालिका अध्यक्ष भूपेन्द्र राईको अग्रसरतामा सम्बन्धित सरोकारवाला, कृषक, सुन्तला ब्लक संचालन समितिका पदाधिकारीहरु र कृषि ज्ञान केन्द्रको उपस्थितीमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा समितिका अध्यक्ष राई र सचिव राईले १२ लाख हिनामिना गरेको ठहर गरिएको छ ।

कृषि ज्ञान केन्द्र खोटाङले भदौ १ गते आर्थिक वर्ष २०७७-०७८ का कार्यक्रमहरु सार्वजनिकीकरण कार्यक्रममा नै मैले आफ्नो गाउँपालिकामा सुन्तला ब्लक क्षेत्र विस्तार कार्यक्रमको बजेट हिनामिना भएको कुरा जाहेर गरेको थिए । कृषकको व्यापक गुनासो आएपछि मैले उहाँहरुलाई सच्चिनको लागि समय पनि दिएको हो तर, नसच्चिएपछि आज कृषककै अगाडी उहाँहरुले हिनामिना गरेको स्वीकार्नु भएको छ, गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले भने ।

सुन्तला ब्लक संचालन समितिका अध्यक्ष र सचिवले १२ लाख रुपैयाँ हिनामिना गरेको सार्वजनिक सुनुवाई कार्यक्रमै स्वीकार गरेको बताईएको छ । उनीहरुले आफूले हिनामिना गरेको १२ लाख १० दिन भित्र कृषकहरूलाई नै फिर्ता गर्ने भएका छन् ।

सुन्तला ब्लकका लागि खाल्डो खन्ने, सामान खरिद गर्ने, प्लाष्टिक पोखरी खन्ने, पायप वितरण, स्पेयर वितरण, हाते आरी वितरण, हजारी वितरण, कैची वितरण र १७ हजार सुन्तलाको विरुवा बाँढेपनि आधा काम गरेर अन्य रकम गोजीमा हाल्ने नियत राखेका समितिका अध्यक्ष र सचिव कृषककै अगाढी नाँगिएका हुन् ।

रकम हिनामिना नगरेको तर काम गर्न कोरोना भाइरस र बर्षाका कारण नकसेको समितिका अध्यक्ष लक्ष्मी कुमार राईले बताए । उनले भने, ‘केही रकम सुन्तलामा लगाउने मल खरिदका लागि खर्च गरिएको र बाँकी रकम आफूहरुसँग सुरक्षीत रहेको उनको भनाई छ । १० दिनभित्रमै कृषकलाई १२ लाख फिर्ता गर्ने उनले बताए ।

जिल्लाका अन्य स्थानीय तहमा पनि यो कार्यक्रम संचालन भइरहेको छ । तर, बजेट र कामको पारदर्शिततामाथी स्थानीय निकाय वेखवर छन् । गाउँपालिकाका कुनै पनि गतिविधिमा भ्रष्ट्रचार हुन नदिन दिप्रुङ चुइचुम्मा गाउँपालिका भने चनाखो बन्दै आएको छ ।

तपाईको प्रतिक्रिया