उदयपुर । मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुरको बेलका नगरपालिका ९ मुर्ति खोला पुलमा मोटर साइकल र स्कुटर ठक्कर खाँदा तीन जना घाइते भएका छन् । लालबजारबाट रामपुर तर्फ जाँदै गरेको को ६ प ३३४२ नम्बरको मोटर साइकल र विपरित दिशाबाट आउँदै गरेको गरेको को २६ प ५०४४ नम्बरको स्कुटर एक आपसमा ठोकिँदा तीन जना घाईते भएका छन् ।
मोटर साइकल चालकले गलत तरिकाले ओभरटेक गरेको कारण र स्कुटी चालकले सावधानी अपनाउन नसक्दा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख होम बहादुर खनालले जानकारी दिए ।
घाइते मोटर साइकल चालक बेलका नगरपालिका ८ बस्ने २२ वर्षिय राजेश कार्कीको अवस्था गम्भिर रहेको छ । उनलाई उपचारको लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाईएको ट्राफिक प्रहरी प्रमुख खनालले जानकारी दिए । उनका अनुसार मोटर साइकल चालकको चाउको र शरिरको विभिन्न भागमा चोट लागेको छ ।
स्कुटी चालक बेलका नगरपालिका ९ बस्ने १४ वर्षिय ऐलान राई र पछाडी सवार सोही ठाउँका १५ वर्षिय संदिप नेपाली सामान्य घाइते भई नजिकैको स्वास्थ्य केन्द्रमा उपचार भईरहेको ट्राफिक प्रहरी प्रमुख खनालले जानकारी दिए । दुवै सवारी साधन इलाका प्रहरी कार्यालय रामपुरको नियन्त्रणमा रहेको छ ।

तपाईको प्रतिक्रिया