लहान । सिरहामा एक महिलालाई बोक्सीको आरोपमा निर्घात कुटपिट गरी मल मूत्र खुवार्इएको घटना सार्वजनिक भएको छ । नवराजपुर गाउँपालिका ५ कुसन्डीकी ४५ वर्षीया मूर्तिदेवी यादबलाई बोक्सीको आरोपमा स्थानीयले भदौं २८ गते निर्घात कुटपिट गरी मलमूत्र खुवाईएको थियो । उनको उपचार लहानमा सम्भव नभएपछि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान लगिएको छ । उनको अवस्था गम्भिर रहेको आफ्न्तले जनाएका छन् ।स्थानीय धर्मनाथ यादव, उनका छोरा सन्तोष, पशुपति र सोही ठाउँका देवनाथ यादव, कृष्ण यादव र ब्रह्म यादव लगायतका समुहले बोक्सीको आरोप लगाउँदै आमा मूर्तिदेवीलाई निर्घात कुटपिट गरेको छोरा गणेश यादवले जानकारी दिए ।
गाउँका एक बच्चा बिरामी भएको र अर्का एक जनाको चट्याङ लागेर मृत्यु भएको घटनामा बोक्सी मूर्तिदेवीको संलग्नता रहेको भन्दै उनीमाथि कुटपिट गरिएको स्थानीय बताउँछन् ।
आमाको अस्पतालमा रेखदेख गर्दै आएका गणेश भन्छन्, ‘राति १२ बजे उनीहरु अचानक घरमा पसेर आमालाई बाहिर निकाले र सडकमा लगेर मरणासन्न हुनेगरी कुटपिट गर्यो । पछि खेतमा लगेर फालिदिए ।’ कुटपिट गर्नेहरुले आमालाई मलमुत्र पनि खुवाए उनले सुनाए ।
कुटपिट गर्ने समूहले प्रहरीमा उजुरी गरे चोरीको आरोपमा फसाईदिने धम्की दिँदै आएको गणेशले गुनासो गरे । धम्की दिएपछि डरका कारण उनी अहिलेसम्म प्रहरीमा उजुरी दिएका छैन । उनको परिवार अझै असुरक्षित बनेका छन् ।

तपाईको प्रतिक्रिया