उदयपुर । जनताको जीउधन र राष्ट्रको सुरक्षाको निम्ति खटिने सुरक्षाकर्मी नै मध्य राति मस्त रक्सीले मातेर उदयपुरका सर्वसाधारणको घरको ढोकामा पेन्टी र गन्जीमा फेला परेको थियो । घटना भदौं ३० गते मध्य राति करिव ११ः३० बजेको हो । चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुर सिवाईका प्रहरी नायव निरीक्षक चौकी (इन्चार्ज) टठ बहादुर निरौला पेशागत आचार सहिता विपरित पेन्टी र गन्जीमा सर्वसाधारणको घर घरमा पसेको आरोपमा जिल्ला तानिएका छन् ।

घटना नं. १
भदौं ३० गते मध्य रात करिव ११ बजेको समयमा प्रहरी चौकीबाट करिव दुई सय मिटरमा सोही ठाउँका लोक बहादुर खड्काका घरमा छोटो पेन्टी र गन्जी लगाएर पुगेका थिए । लोकबहादुर सहित दुई बुहारी र नातिनी सुतिरहेका थिए । राति मस्त निन्द्रामा करिव ११ बजेको समयमा लोकबहादुरको माइली बुहारी सुमित्रा खड्काले २ महिनाको बच्चा रुएर दुध खुवाई रहेकी थिईन । सुमित्रासँगै भान्जी पनि सुतेकी थिईन् । चरक चरक आवाज सहित कोही मान्छे घरमा आएको जस्तो चाल सुनिएपछि ढोका खोलेर हेर्दा कसैलाई देखिइन सुमित्राले बताईन् । उनले नागरिक बहससँग भनिन् ‘भ्रममा परे जस्तो भयो ।’

त्यसको करिव १५–२० मिनेट पछि भान्जी पिसाब फेर्न उठदा ढोकामा चप्पल र ढोका छेउमै एक जना मान्छे पेन्टी र गन्जीमा देखियो । ‘ढोका छेउमा मान्छे देखेपछि भान्जी आतिए ।’ नागरिक बसहसँग सुमित्राले भनिन्, ‘त्यसपछि म सहित भान्जी कराऔं ।’

ढोका छेउमा बस्ने को हो ? भनेर सोध्दा । प्रहरी नायव निरीक्षक निरौलाले डिउटीमा आएको बताए । मध्य राति के भयो ? कसको डिउटीमा आएको सइ साबलाई सोध्दा ‘बोलाउने बेलामा बोलाईस् अनि कसको डिउटीमा भन्छस भन्न थाले ।’ नागरिक बसहसँग सुमित्राले भनिन् ‘ सई साबले डिउटीमा छु, छिमेकीको घरमा डिउटी गर्न नपाईने ? लगायत तथानाम भन्न थाले । मान्छेलाई गुहार माग्न थालेपछि मोबाइलमा कुरा गरे जस्तो गरेर भागे ।’ सुमित्रा र अन्जुको श्रीमान बैदेशिक रोजगारको सिलसिलमा खाडीमा छन् ।

घटना नं. २
सोही मितिमा मध्य राति करिव ११ः२५ बजेको समयमा कृष्ण बहादुर बस्नेतको घरमा पनि पुगेका थिए । उनको घर पनि करिव प्रहरी चौकीबाट डेढ सय मिटरको दुरीमा छ । मध्य राति आफ्नो घरमा एक जना यता उता गरेको चाल आएपछि उठेर चोर चोर भन्दै हार गुहार गरेपछि स्थानीयहरुले घेरा हालेर पेन्टी र गन्जीमा रहेको पुरुषलाई पक्राउ गर्न सफल भएको कृष्णबहादुरका छोरा गजेन्द्र बहादुरले नागरिक बहसलाई बताए ।

गाउँलेहरु जम्मा भए हेर्दा सिवाई सुन्दरपुर प्रहरी चौकीका इन्चार्ज निरौला हो भन्दै स्थानीयहरुले कुटी नहालेको छोरा गजेन्द्रले बताए । प्रहरी चौकी इन्चार्ज निरौला हात खुट्टा हिलोले लतपतिएर मस्त रक्सी खाएको अवस्था रहेको थियो । त्यसपछि प्रहरी चौकीमा जिम्मा लगाएको गजेन्द्रले बताए ।

प्रहरी नायव निरीक्षक निरौलाको हर्कतको बारेमा खड्का परिवारले विहान प्रहरी चौकी सिवाईमा जानकारी गराएका थिए । प्रहरी नायव निरीक्षक निरौलाले अव यस्तो हुँदैन भन्दै माफी मागेको समेत सुमित्राले बताईन् ।

सर्व साधारण मध्य राति पेन्टी र गन्जीमा कसैको घरमा प्रवेश गरेको देखिएको भए तिनै प्रहरीले प्रश्न गर्ने थिए । ‘रातमा अरुको घरमा किन गईस् ? के गर्न गएको थिइस ? भन्दै नानाथरीका कानून लगाएर जरिवाना र सजाय गराईन्थ्यो तर प्रहरी निरीक्षक नै यस्तो अवस्थामा देखिएपछि प्रहरी कानूनले के सजाय गर्छ’, गजेन्द्रले भने । उनका अनुसार प्रहरी नै सेवाग्राहीको घरमा नाङ्गो अवस्थामा पुगेपछि यसका लागि कस्तो सजायको व्यवस्था छ ?

स्थानीयहरुका अनुसार सेवाग्राहीसँग छिटो मुख लाग्ने गरेको समेत आरोप लगाएका छन् । कुनै सेवाग्राही काम विशेषले जाँदा उल्टै मुख लाग्ने गरेको स्थानीयहरुले जानकारी दिए ।

आम सर्वसाधारणको जिउ ज्यानको सुरक्षामा खटिएका प्रहरी नै पेशागत आचार सहिता विपरित मध्य राति पेन्टी र गन्जीमा अरुको घरमा पस्दै गरेको देखिनुले शंका उपशंका अवश्य उब्जिन्छ । यसले के सन्देश दिन्छ स्थानीयहरुको गुनासो रहेको छ ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी भिमबहादुर दाहालसँग बुझ्दा जनप्रतिनिधि र स्थानीयको गुनासोको आधारमा सिवाई प्रहरी चौकीका इन्चार्जलाई जिल्ला प्रहरी कार्यालयमा तानिएको बताए ।

उनलाई भदौं ३१ गते साँझ पख जिल्ला प्रहरी कार्यालय तानिएका हुन । एसपी दाहालले भने, प्रहरी नायव निरीक्षक निरौला रक्सी खाएर पेन्टी र गन्जीमा कसैको घरमा गएको भन्ने कुनै लिखित निवेदन नआएको बताए । एसपी दाहालका अनुसार पेशागत मर्यादा विपरित कुनै प्रहरी कर्मचारीले काम गरेको भए गर्नेले विभागिय कारबाही भोग्न तयार हुनु पर्ने बताए ।

तपाईको प्रतिक्रिया