उदयपुर । कोरोना कहरलाई मध्येनजर गर्दै नेपाल पत्रकार महासंघ शाखा उदयपुरले आफ्ना सबै साधारण सदस्यहरुको सदस्यता नविकरण गरिदिएको छ । शाखाले आफ्नै पहलमा स्रोत खोजेर आफ्ना ८३ जना साधारण सदस्यहरुको पछिल्लो दुई आर्थिक वर्षको सदस्यता नविकरण गरिदिएको हो ।

करोनाका कारण पत्रकारहरुको आयआर्जनका माध्यमहरु टुट्दै गएको अवस्था छ । उनीहरुलाई आवतजावत पनि उत्तिकै जोखिम छ । यिनै कुराहरुलाई मध्येनजर गर्दै उदयपुर शाखामा आवद्ध जिल्लाभरीकै पत्रकारहरुको सदस्यता नविकरण गरिएको शाखा अध्यक्ष भरत खड्काले बताउनुभयो । जिल्लाबाट सदस्यता नविकरण मार्फत पठाउनु पर्ने शुल्क प्रति एक सदस्य १५ सयका दरले एक लाख २४ हजार पाँचसय रुपैया हिजो नै बैंकमार्फत केन्द्रको खातामा जम्मा गरिएको छ । साथै प्रतिवर्ष शाखा कोषका लागि नविकरणसंगै तोकिएको शुल्क पनि छुट गरेको छ । प्रतिब्यक्ति पाँचसयका दरले संकलन हुने ४१ हजार पाँचसय रुपैया शाखाले छुट गरेको हो ।

शाखाको कार्यसमिति बैंठकले नै निर्णय गरी सबै सदस्यहरुको सदस्यता नविकरण तथा कोष शुल्क छुट गरिएको उहाँले बताउनुभयो । गएको आर्थिक वर्षको अन्तिमसम्ममा नविकण गर्नु पर्नेमा कोरोनाका कारण केन्द्रले भदौ मसान्तसम्मका लागि म्याद थप गरेको थियो । थपिएको म्यादभित्रै शाखाले आप्mना सम्पूर्ण सदस्यहरुको नविकरण गरेको शाखा सचिव पर्शुराम थापाले बताउनुभयो ।

अध्यक्ष खड्काका अनुसार सबै सदस्यहरुको नविकरण गरिदिने शाखाको निर्णय अघि नविकरण शुल्क बुझाएका सदस्यहरुको हकमा पैसा फिर्ता गरिने छ । शुल्क बुझाएका सदस्यहरुको नाममा रसिद काटिएकाले सोही रसिदको आधारमा पैसा फिर्ता गरिने शाखाले जनाएको छ । उदयपुर शाखाले पत्रकारको मर्म बुझ्ने काम गरेको भन्दै महासंघ १ नं. प्रदेशका सचिव हरिकुमार राईले प्रशंसा गर्नुभयो । संकटको बेला पत्रकारहरुलाई साहाराको आभाष दिलाउने काम भएको उहाँले बताउनुभयो ।

कोरोना सन्त्रास तथा लकडाउनका कारण काठमाडौंदेखि जिल्ला जान नसकिरहेको अवस्थामा महासंघ शाखाले नै आप्mनो सदस्यता नविकरण गरिदिएकोमा सदस्य प्रकाश राईले व्यक्त गर्नुभयो । सदस्य राईले आफुहरु जस्तो श्रमजिवि पत्रकारहरुका लागि उदयपुर शाखाले गरेको सहयोग निकै ठूलो सहयोग भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया