- पत्रपत्रिकाबाट/नागरिक बहस

भारत सरकारले पर्वतारोहणका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेहरूका लागि दिँदै आएको प्रतिष्ठित तेन्जिङ नोर्गे नेसनल एड्भेन्चर अवार्ड विवादमा तानिएको छ ।

हिमाल आरोहण र साहसिक पर्यटन क्षेत्रमा निकै प्रतिष्ठित मानिएको यो पुरस्कार सगरमाथा चढेको दाबी गरेका नरेन्द्र सिंहलाई दिने भारत सरकारको घोषणा विवादास्पद बनेको हो ।

नरेन्द्रलाई पुरस्कार दिने भारत सरकारको निर्णयप्रति भारतीय आरोहीहरूले आश्चर्य प्रकट गरेका छन् । यस वर्ष सिंहसहित अन्य ६ जनाले यो पुरस्कार पाउँदै छन् । जसमा सगरमाथा आरोही अनिता कुन्डु पनि छिन् । उनी दक्षिणी र उत्तरी मोहडाबाट सगरमाथा चढ्ने पहिलो भारतीय महिला हुन् । उनीहरूलाई आगामी अगस्ट २९ मा राष्ट्रपति रामनाथ कोविन्दले पुरस्कार दिने कार्यक्रम रहेको छ ।

भारतको हरियाणा राज्यका नरेन्द्र तिनै व्यक्ति हुन्, जसमाथि २०१६ मे २० मा विश्वको उच्च शिखर सगरमाथा आरोहणको झूटो दाबी पेस गरेर प्रमाणपत्र लिएको आरोप लागेको छ । उनको आरोहणमाथि सुरुदेखि नै प्रश्न उठ्दै आएको छ । त्यही भएर आरोहण क्षेत्रमा सम्बद्धहरूले शंकाको निवारण नहुँदै यस क्षेत्रकै प्रतिष्ठित पुरस्कार दिइनु तेन्जिङ नोर्गे शेर्पाकै अपमान भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

नरेन्द्रलाई पुरस्कारको घोषणा हुनासाथ सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूले उक्त निर्णयप्रति व्यापक असन्तुष्टि व्यक्त गरेका छन् । नरेन्द्रको दाबीमाथि भारत र नेपाल सरकार दुवैले गम्भीरतापूर्वक छानबिन गर्न मागसमेत उठेको छ ।

त्यस्तो माग पर्नेमा पर्छन् भारतका चर्चित पर्वतारोही कुन्टल जोयसर । सगरमाथालगायत विश्वका २ दर्जनभन्दा बढी शिखरको आरोहण गरिसकेका जोयसरले प्रमाणपत्र नक्कली र सक्कली यकिन गर्ने आफ्नो काम नभए पनि विवादास्पद विषय टुंगोमा नपुगी पुरस्कार दिनु आश्चर्यजनक भएको बताए । ‘पुरस्कारबारे सुन्नासाथ म त स्तब्ध भएँ, कसरी यति ठूलो पुरस्कार यस्तो व्यक्तिलाई दिने निर्णय गरियो रु, कम्तीमा छानबिन गरेर टुंगोमा पुगेपछि गरेको भए हुने हो,’ उनले भने ।

उनले नरेन्द्रको पृष्ठभूमि र मिडियामा आएका सूचनाहरूलाई हेर्दा उनले सगरमाथा चढेको विश्वास गर्ने आधारहरू नभएको जिकिर गरे । ‘टिम लिडरदेखि उद्धार गर्नेसम्मले होइन भनेका छन्, त्यसमाथि उनले त्यसअघि कुनै ठूला हिमाल चढेको प्रमाण पछि छैन,’ जोयसरले भने । नरेन्द्रलाई पुरस्कार दिने खबर सार्वजनिक भएपछि उनको आरोहणमाथि नै प्रश्न उठाउँदै भारतीय अंग्रेजी दैनिक मिड–डेले बिहीबारको संस्करणमा खोजमूलक समाचार प्रकाशित गरेको छ ।

लामो समयदेखि पर्वतारोहण क्षेत्रमा कलम चलाउँदै आएकी पत्रकार अनुशा सुब्रमन्यमको खोज समाचारमा नरेन्द्रको आरोहणको दाबीलाई तथ्यसहित गलत दाबी गरिएको छ । हरियाणाका नरेन्द्रले २०१६ मे २० मा सगरमाथा आरोहण गरेको दाबी गरेका थिए । तर, उनकै आरोहण दलका नेता नवकुमार फुकोनले नरेन्द्रले आरोहण गर्न असफल भएपछि बीचबाटोबाटै उद्धार गरिएको खुलासा गरेका छन् ।

‘नरेन्द्र र म चौथो क्याम्पमा थियौं । उनले पर्याप्त अक्सिजन नभएको भनेपछि उनलाई तल झर्न सल्लाह दिएको थिएँ,’ फुकोनलाई उद्धृत गर्दै मिड–डेले लेखेको छ । उनले तिनै नरेन्द्रलाई पुरस्कार दिन लागेको सुनेर आफू आश्चर्यचकित भएको बताए । फुकोनले जस्तै अर्को आरोही रमेश रोयले मिड–डेसँगको कुराकानीमा नरेन्द्रलाई आरोहण गर्न सकिन भन्दै चौथो क्याम्पमा रोइरहेको देखेको तर, पछि काठमाडौंमा प्रमाणपत्र देखाउँदा आफू आश्चर्यमा परेको बताएका छन् ।

नरेन्द्रलाई उद्धार गर्ने लाक्हा शेर्पाले समेत उनको आरोहणको दाबी गलत भनेका छन् । ‘नरेन्द्र सिंहले सगरमाथा आरोहण गर्न नसकेर ८ हजार ४ सय मिटरबाट हाम्रै टोलीले उद्धार गरेको हो । तर, पछि जब प्रमाणपत्र देखेँ म त छक्कै परेँ,’ शेर्पालाई उद्धृत गर्दै मिड–डेले लेखेको छ ।

भारतीय आरोहीमाथि नक्कली आरोहणको आरोप लागेको यो पहिलो घटना होइन । यसअघि सन् २०१६ मै महाराष्ट्र प्रहरीमा कार्यरत दिनेश राठोड र तर्केश्वर राठोडले पनि आरोहणको नक्कली प्रमाण पेस गरेर नेपाल पर्यटन विभागबाट सगरमाथा आरोहण गरेको प्रमाणपत्र हात पारेका थिए । तर, पछि भारतीय आरोही सत्यरूप सिद्धार्थले राठौड दम्पतीले आफ्नो फोटा चोरेर सगरमाथा आरोहण गरेको झूटो दाबी गरेपछि उनीहरूको ‘बदमासी’ बाहिर आएको थियो ।

उक्त झूटलाई पनि अनुशाले नै पहिलो पटक भारतीय मिडियामार्फत बाहिर ल्याएकी थिइन् । त्यसपछि विभागले गरेको छानबिनमा उनीहरूले पेस गरेको प्रमाण झूटो सावित भएपछि प्रमाणपत्र रद्द गर्दै उनीहरूलाई दस वर्षसम्म नेपालमा पर्वतारोहण गर्न प्रतिबन्ध लगाइएको थियो ।

पत्रकार अनुशाले नरेन्द्रको आरोहणमाथि पनि आफूले सुरुदेखि नै प्रश्न उठाउँदै आए पनि प्रमाण जुटाउन समय लागेको बताइन् । ‘मलाई राठौड दम्पतीको खोज गर्दा नै नरेन्द्रको पनि आरोहण झूटो हो भन्ने थाहा भएको थियो, त्यतिबेला घटना थाहा पाएकाले पनि उनीविरुद्ध बोल्न मानेका थिएनन् । अहिले आएर मात्र प्रमाण जुट्यो,’ उनले भनिन् ।

राठौड दम्पतीले आरोहण गरेकै वर्ष नरेन्द्रले पनि सगरमाथा आहरोहण गरेको दाबी गर्दै आरोहणसम्बन्धित तस्बिरहरू पेस गरेर प्रमाणपत्र लिन सफल भएका थिए । उनी सेभेन समिट्स ट्रेकबाट सगरमाथा आरोहणमा गएका थिए । नरेन्द्रले विभागमा दिएको जानकारी र पेस गरेका तस्बिरहरूमाथि आरोहणका जानकारहरूले सुरुदेखि नै प्रश्न उठाएका छन् ।

यस विषयमा नेपालका सञ्चारमाध्यम मात्र नभएर भारतीय सञ्चारमाध्यमहरूले पनि धेरैपटक खोजमूलक सामग्री प्रकाशित गरिसकेका छन् । कान्तिपुर मिडियाको सहप्रकाशन नेपाल साप्ताहिकले नरेन्द्रले सगरमाथा चढेको विवाद पहिलोपटक सार्वजनिक भएलगत्तै यससम्बन्धमा खोजमूलक सामग्री नै प्रकाशन गरेको हो ।

जसमा तथ्यसहित नरेन्द्र सिंहले सगरमाथा चढेको दाबीसहित सार्वजनिक गरेको तस्बिर नक्कली भएको दाबी गरिएको थियो । तर, विभागले त्यस विषयमा थप छानबिन गरेन । जसले गर्दा नरेन्द्रले आफूलाई सगरमाथा आरोहीका रूपमा चिनाउँदै आएका छन् । त्यही प्रमाणपत्रका आधारमा भारत सरकारले उनलाई प्रतिष्ठित पुरस्कार दिने निर्णय गरेको हो ।

भारतमा नरेन्द्रको घटनालाई पुरस्कारसँगै नेपाल सरकारले जारी गर्ने आरोहणको प्रमाणपत्रको विश्वसनीयतासँग पनि जोडेर हेरिएको छ । त्यही भएर पनि यस विषयलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिनुपर्ने आरोहण सम्बद्धहरूको भनाइ छ । केहीले त पर्यटन विभागको भूमिकामाथि नै प्रश्न उठाएका छन् । पत्रकार अनुशाले पनि पछिल्लो विवादलाई आफूले पुरस्कारको कोणबाट भन्दा पनि नक्कली आरोहणका हिसाबले गम्भीरतापूर्वक लिएको जिकिर गरिन् । साथै उनले नेपाल सरकारले यो विषयलाई गम्भीरतापूर्वक लिँदै तत्काल छानबिन सुरु गर्नुपर्ने बताइन् ।

‘यो घटनाको छानबिन नभएको खण्डमा नेपालले जारी गर्ने प्रमाणपत्रको विश्वसनीयतामाथि नै प्रश्न उठ्छ त्यसैले पनि नेपालका सम्बन्धित निकायहरूले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ,’ उनले भनिन् ।

तर, विभागकी निर्देशक मीरा आचार्यले भने प्रमाणपत्र जारी गर्दा कानुनमा तोकिएबमोजिमको प्रक्रिया र मापदण्ड पूरा गरिएको दाबी गरिन् । आचार्यले सगरमाथा आरोहणको प्रमाणपत्र जारी गर्दा तोकिएको प्रक्रिया पूरा गर्ने गरिएकाले मिडिया र सामाजिक सञ्जालमा आएका सूचना एवं जानकारीसँग अवगत नरहेको बताइन् । कुनै पनि आरोहीलाई सगरमाथा आरोहण गरेको प्रमाणपत्र विभागले नै दिने गर्छ ।

सामान्यतः पर्यटन मन्त्रालयले खटाउने सम्पर्क अधिकृत र आरोहण दलको नेताले तयार पार्ने प्रतिवेदनका आधारमा विभागले कुनै पनि व्यक्तिले हिमाल आरोहण गरेको र नगरेको यकिन गर्छ । त्यसबाहेक आरोहणको व्यवस्थापन गर्ने संस्थाले उपलब्ध गराउने तस्बिरहरूलाई पनि आधार बनाउने गरिन्छ । कान्तिपुरमा समाचार छ ।

तपाईको प्रतिक्रिया