उदयपुर । पछिल्लो चरण सप्तरीमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि जिल्ला प्रशासन कार्यालयले जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ। मंगलबार बिहान ५ बजेदेखि लागुहुने गरी एक हप्ताको लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए।

कोरोनाको संक्रमण तीव्र गतिमा बढिरहेकोले थप संक्रमण रोक्न निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए। सप्तरीमा सोमबार मात्रै ५१ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म ५ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

यसभन्दा पहिले राजविराज नगरपालिकामा मात्र निषेधाज्ञा जारी गरिएको थियो। मंगलबार विहानदेखि लागु हुने निषेधाज्ञा साउन २६ गते साँझ ५ बजेसम्म जारी रहने प्रमुख जिल्ला अधिकारी आचार्यले बताए।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम राजविराजसहित जिल्लाभर निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ। यस निषेधाज्ञा अवधिमा नेपाल राजपत्रमा तोकिएको अतिआवश्यक सेवाबाहेक सम्पूर्ण सेवा बन्द रहने जनाइएको छ।

यसभन्दा पहिले बारा, पर्सा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ भने धनुषाको जनकपुरधाम, महोत्तरीको जलेश्वर लगायतका क्षेत्रमा समेत निषेधाज्ञा जारी गरिएको छ।

तपाईको प्रतिक्रिया