उदयपुुर । आठ वर्षीय नावालकको खप्पर फुटाएको आरोपमा पक्राउ परेका वकिल इन्द्रबहादुर तामाङविरुद्ध मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १८३ विरुद्धको कसुर स्थापित भएको भन्दै आइतबार अभियोग पत्र जिल्ला अदालत उदयपुरमा बुझाइएको छ । सोमबार अभियुक्त तामाङविरुद्ध थुनछेक बहस हुने भएको छ । कसुर सावित भए वकिल तामाङलाई दस वर्ष कैद र एक लाख रुपैयासम्म जरिवाना हुन सक्ने छ । घटनाको जाहेर पीडित नावालक आयन लिम्बूको आमा सम्झना तामाङ थाम्सुहाङले दिएकी हुन ।
तामाङ्ले नाबालक आयन लिम्बूलाई बालुवा खेलाएको निहुँमा ढुंगा प्रहार गरी गंभीर अवस्थामा पु¥याएका थिए । गत असार २२ गते राती अभियुक्त तामाङलाई सोही अभियोगमा प्रहरीले घटनास्थलबाटै हिरासतमा लिएको थियो । र २१ दिनसम्म घटनाको विस्तृत अध्ययन, साक्षी, प्रमाणहरु जुटाएर जिल्ला सरकारी वकिल कार्यालयले अभियोग पत्र दर्ता गरेको हो । अभियोग पत्रमा औषधि उपचार खर्चको क्षतिपूर्तिसमेत दावी गरिएको छ ।
यो घटनालाई धेरै वर्षपछिको जिल्लाकैं सर्वाधिक चासोको विषयको रुपमा हेरिएको छ । घटनाको अधिकारकर्मी, सामाजिक अभियन्तालगायत नागरिकहरुले कार्यवाहीको माग गर्दै भत्र्सनासमेत गरेका थिए । सामाजिक सञ्जालहरुमा समेत खप्पर फुटाएको घटनाले व्यापकता पाएको थियो । ्नाबालक लिम्बू १२ दिनपछि न्यूरो अस्पतालबाट डिस्चार्ज भएका थिए ।
के छ न्यूरोको रिपोर्टमा ? चिकित्सक पन्नालाल साहले मनसायपूर्वक घातक प्रहार गरेको राय पेश गरेका देखिन्छ । उनले टाउकोको सिटि स्क्यान रिर्पोटको इम्प्रेशनमा लेखेका छन् minimally comminuted and depressed fracture of frontal bone on left side, slightly intending adjacent frontal lobe जसको मेडिकल अर्थ जानाजान मर्ने गरी बल वा घातक वस्तु वा हतियार प्रयोग गरेर खप्परका हाडहरु कम्तिमा दुई टुक्रा वा सो भन्दा बढी टुक्रा भएको र हड्डि दविएर मस्तिष्कलाई क्षति पुग्ने अवस्था रहेको उल्लेख गरेका छन् । यसले घटना घटाउने मनसाय र गंभिरतालाई दर्शाएको छ ।
घटनाको अनुसन्धान जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरिक्षक विजय श्रेष्ठको नेतृत्वमा प्रहरीहरुले सम्पन्न गरेको हो ।
यसैबीच आरोपित वकिल इन्द्रबहादुर तामाङले संस्थागत रुपमा आफ्नो पक्षबाट वकिलहरुले बहस गरुन भन्ने आशय र अनुरोध गरे पनि नेपाल बार एशोसियशन उदयपुर इकाइले उनको अनुरोधलाई अस्वीकार गरेको बुझिएकोछ । उदयपुर बारले वकिलहरु पक्ष वा विपक्ष जसको तर्फबाट पनि मुद्दाको पैरवी गर्न सक्ने भन्दै घुमाउरो तरिकाले खप्पर फोडुवाको आरोप लागेका वकिल तामाङ्को प्रस्तावलाई अस्वीकार गरेको बारका वकिलहरुले अनौपचारिक रुपमा बताएका छन । ती कानून व्यवसायीहरुले बालक र महिलामाथि ज्यादति गरेर पेशाकैं बद्नाम गर्नेको पक्षमा बार कसरी उभिन सक्छ भनी उल्टै प्रतिप्रश्न गरे ।
दफामा के छ ?
१८३. ज्यान मार्ने उद्योग गर्न नहुने ः (१) कसैले कसैको ज्यान मार्ने नियतले त्यसको उद्योग गर्न हुँदैन । (२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दश वर्षसम्म कैद र एक लाख रुपैयाँँँसम्म जरिबाना हुनेछ ।









