उदयपुर । विराटनगरका दुई अस्पतालमा भर्ना नलिएर उपचार नपाउँदा एम्बुलेन्समै मृत्यु भएका उदयपुरका युवामा कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उदयपुरको कटारी नगरपालिका–५ का २३ वर्षीय पदम राईको कोरोना रिपोर्ट नेगेटिभ आएको पुष्टी भएको हो ।
कोरोना भाइरसको संक्रमण रहेको हुन सक्ने आशंका गर्दै विराटनगरका नोबेल, कोसी जस्ता ठूला अस्पतालले उपचार अस्वीकार गरेपछि एम्बुलेन्सभित्रै शुक्रबार दिउँसो लगभग ३ः३० बजेतिर उनको मृत्यु भएको थियो । तर कोसी अस्पतालको प्रयोगशालामा स्वाब संकलन गरेर परीक्षण गरिएपछि राति १० बजे उनमा कोरोना नरहेको पुष्टिसहितको रिपोर्ट प्राप्त भएको थियो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुुमनलाल दासले रिपोर्ट नेगेभिट आएपछि शव शनिबार बिहान परिवारका सदस्यलाई बुझाइएको जानकारी दिए । शंकास्पद देखिएका कारण उपचारका लागि तत्काल भर्ना गर्ने अवस्था नभएको र बिरामीको एम्बुलेन्समै मृत्यु भएको उनको भनाइ छ । उनले अवस्था गम्भीर रहेका बिरामीलाई कोसीमा सम्भव नहुने भएपछि थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गर्ने तयारी हुँदा हुँदै घटना भएको बताए । कोही शंकास्पद बिरामी आएमा कोरोना रिपोर्ट प्राप्त नहुनजेलसम्म उपचारका गराउन स्वास्थ्यकर्मीले आनाकानी गर्ने दासले स्वीकार गरे । श्वासप्रश्वास सम्बन्धी समस्या बढ्दै गएपछि बिरामी अवस्थाका पदमलाई श्रीमती कमला र बहिनी चमेलीले स १ च १२०५ नम्बरको एम्बुलेन्समा राखेर शुक्रबार विराटनगर ल्याएका थिए । दिउँसो २ बजे विराटनगरको नोबेल शिक्षण अस्पतालमा पु¥याइए पनि उपचार गर्न चिकित्सकले मानेनन् । त्यसपछि लगभग २ः३० बजेतिर एम्बुलेन्समै कोसी अस्पताल लगियो ।
उपचारका लागि उदयपुरबाट ल्याइएका पदम राईको मृत्यु भएपछि एम्बुलेन्समै बेहोस भएका पदमकी श्रीमती कमला र बहिनी चमेली ।
कोसीले पनि उपचार अस्वीकार ग¥यो । लगभग एक घण्टापछि पदमको मृत्यु भएको एम्बुलेन्स चालक सुवास तामाङले बताए । बिरामीमा कोरोना संक्रमण नभएको पुष्टि गर्ने आधार अस्पतालले खोजेको र त्यो आफूहरुसँग नहुँदा उपचारनै गर्न अस्वीकार गरेको उनले बताए । मृत्यु भइसकेपछि पनि पदमको शव एम्बुलेन्समै दुई घण्टासम्म राखिएको थियो । पछि शव पीपीई लगाएका स्वास्थ्यकर्मीले आइसोलेसनमा लगेर कोरोना परीक्षणका लागि स्वाब संकलन गरेका थिए । पदमको मृत्यु भएपछि उनलाई उपचारका लागि लिएर आएका श्रीमती र बहिनी पीडाले बेहोस भएका थिए ।
एम्बुलेन्सभित्रै बेहोस अवस्थामा लामो समयसम्म रहे पनि अस्पतालले उपचार गराउन नमान्दा उनीहरुलाई राति फर्काएर त्यही एम्बुलेन्सले उदयपुरनै लिएर गएको मृतक पदमकी आफन्त रोमा गोलेले बताइन् । अस्पतालका कर्मचारी र चिकित्सकले एम्बुलेन्समा बिरामीको मृत्यु हुँदा तथा बिरामीका आफन्त बेहोस हुँदा पनि कुनै ‘रेस्पोन्स’ नगरेको उनको गुनासो छ । उनले उपचार नपाएर सर्वसाधारणले अकालमा ज्यान गुमाउनु दुःखद् भएको बताइन् । गोलेले उपचार गर्न नमान्ने अस्पताल र चिकित्सकलाई कारबाही हुनु पर्ने माग गरिन् ।
यस अघि पनि उदयपुरको नाम सुन्ने वितिकै नोवेल हस्पिटल विराटनगरले अप्रेशन थेटरमा अप्रेशनको तयारीमा रहेका गर्भवती महिला र एक युवाको हातमा स्टिल लगाउने समयमा अप्रेशन थेटरबाट बाहिर निकालेका थिए । यस्तै विपी कोइराला विज्ञान प्रतिष्ठान धरानले पनि समयमा उपचार नगर्दा एक फुटवल खेलाडीको आँखाको नानी गुमेको छ ।









