उदयपुर । निजी विद्यालयहरुले आलोपालो प्रणाली मार्फत पठन पाठन गर्न पाउनु पर्ने माग गर्दै त्रियुगा नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका छन् । शुक्रबार त्रियुगा नगरपालिकामा निजी विद्यालयहरुको संगठन प्याब्सन र एनप्याब्सनले संयुक्त ध्यानाकर्षण पत्र बुझाएका हुन् । कोभिड १९ को प्रभावको समेत अध्ययन गरी यथासम्भव विद्यालयहरुमा आवश्यक पूर्वाधार व्यवस्थापन सहित जोर विजोर वा आलोपालो प्रणालीमा कक्षा संचालन गरि विद्यार्थीहरुको पठनपाठन गर्ने व्यवस्था गरियोस भनी ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
नयाँ विद्यार्थीको भर्ना, अध्ययनरत विद्यार्थीहरुको अभिलेखिकरण गरी पाठ्यपुस्तक लगायत शिक्षण सामग्रीहरु व्यवस्थापन गर्ने वातावरण यथासिघ्र निर्माण गर्न पनि ध्यानाकर्षण पत्र नगरपालिकालाई बुझाईएको छ ।
क्वारेन्टाइनका लागि विद्यालयहरुको प्रयोग भएकाभए अर्को स्थानामा स्थानान्तरण गरी निर्मलीकरणे व्यवस्था गर्न निजी विद्यालयहरुले माग गरेको छ ।
वर्तमान शिक्षा नियमावली अनुसार एक शैक्षिक सत्रका लागि १८०–१९२ दिन पठन पाठन गर्नुपर्ने हुँदा सोही अनुसार शैक्षिक सत्र २०७७ का लागि केही सार्वजनिक विदाहरु, जाडो विदा लगायतका अन्य विदा कटौती गरि नयाँ शैक्षिक क्यालेण्डर निर्माण गर्न माग गरेको छ ।
यस्तै शैक्षिक सत्र २०७७ मा विद्यालयहरुले शिक्षा नियमावली अनुसार तोकिएको जिम्मेबारी पुरा गर्ने प्रतिवताका आधारमा १ महिनाको मासिक पढाई शुल्क छुट गरी अन्य शुल्कहरु संकलन गर्न पाउनु पर्ने माग गरेका छन् ।
निजी विद्यालयहहरुको शैक्षिक सत्र २०७६ को बाँकी बक्यौता उठाउन नसकेको र २०७७ सालमा कुनै पनि शिर्षकमा शुल्क संकलन नगर्न नेपाल सरकारले निर्देशन गरेको अवस्थामा हाम्रा विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुको तलव भत्ता लगायत अन्य खर्चको व्यवस्थापन गर्न नसकिएको हुाँदा हाम्रा शिक्षक कर्मचारीहरुलाई उचित सहयोगको व्यवस्था गर्न माग गरेको छ ।
यस्तै घर–जग्गा बहाल कर, व्यवसायिक कर लगायत अन्य महशुलहरुमा छुटको व्यवस्था गर्न पनि ध्यानाकर्षण गरेको छ ।
प्याब्सनको तर्फबाट त्रियुगा नगर कमिटी अध्यक्ष लक्ष्यजंग ठकुरी र एनप्याब्सनको तर्फबाट सुमन कुमार चौधरीको संयुक्त हस्ताक्षर सहितको ध्यानाकर्षण पत्र त्रियुगा नगरपालिकाका उपमेयर देवी कुमारी चौधरीलाई हस्तान्तरण गरेका थिए ।

तपाईको प्रतिक्रिया