उदयपुर । उदयपुरका एक कानून व्यवसायीले ढुंगाले हानेर छिमेकी बालकको खप्पर फुटाई दिएका छन् । सोमबार राति त्रियुगा नगरपालिका १२ का कानून व्यवसायी इन्द्रबहादुर तामाङले ढुंगाले हानेर छिमेकी ७ वर्षिय नाबालक आयन लिम्बुको टाउको फुटाएको आरोप छ । 
ढुंगाले हानेर बालक गम्भिर बनाएको आरोपमा कानून व्यवसायी तामाङलाई हिरासतमा लिएर अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी प्रमुख भीम दाहालका अनुसार प्रारम्भिक जानकारीका आधारमा आरोपित तामाङलाई अनुसन्धानका लागि घट्नास्थलबाटै तत्कालै नियन्त्रणमा लिइ हिरासतमा राखेको हो ।
घाइते बालकको विराटनगरस्थित न्यूरो अस्पतालको सघन उपचार कक्ष (आईसियू) कक्षमा उपचार भईरहेको छ । हेरचाह गर्नेहरुको अनुसार उनको टाउकोको हड्डी दबिएको देखिएको छ भने टाउकोमा ६ वटा टाका लगाइएको छ ।
नाबालक लिम्बूका आमा सम्झना तामाङ (योद्धा)का अनुसार बच्चा रोएको सुनेपछि कोठाबाट निस्केर हेर्दा आरोपित तामाङले आयनलाई झापडले हान्दै थिए । त्यसपछि उनले बचाउ गर्दै खोसेर ल्याएपछि वकिल तामाङले ढुङ्गा प्रहार गरी घाइते बनाएका हुन । नावालक आयनका साथी विवेक ठाकुरकाअनुसार ठूलो ढुङ्गाले हानेर झन्डै मारेको थियो । टाउको फुटेर रगतपच्छे भएका आयनलाई तुरुन्तै उपचारको लागि उदयपुर जिल्ला अस्पताल लगे पनि उपचार हुन नसक्ने भनेपछि बिराटनगर रेफर गरिएको थियो ।
अधिवक्ता तामाङले थुपारेको बालुवामा बालकहरु खेल्दै गर्दा ढुंगाले हानेर हिर्काएको स्थानीयहरुले बताएका छन् । अधिवक्ता तामाङकी छोरीका अनुसार बालकले बालुवामा खेलिरहेको अवस्थामा सम्झाएको, ढुंगाले हानेको होइन बताए ।
एक कानून व्यवसायीका अनुसार आरोप प्रमाणित भए सजायको भागिदार हुनुपर्छ । उनका अनुसार तामाङले मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १९१ (१) (क) को बमोजिमको अपराध गरेको देखिन्छ । नीजले ‘कसैले कसलाई कुटपिट गर्न हुँदैन’ भन्ने कुरालाई पूर्णतया उल्लघंन गरेका छन् । यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ भन्ने प्रावधान छ । त्यसैगरी आरोपित वकिल तामाङले बालबालिका सम्वन्धी ऐन २०७५ को दफा ६६ को उपदफा (घ) र (ङ) विरुद्धको कसुर गरेका देखिन्छन् । ती उपदफामा बालबालिकालाई घर, विद्यालय वा जुनसुकै स्थानमा शारिरीक वा मानसीक दण्ड दिने वा अमर्यादित व्यवहार गर्ने, त्यसैगरी उपदफा (ङ) मा शारिरीक चोटपटक वा असर पु¥याउने कामलाई अपराध मानिएको छ भने ५० हजार रुपैयासम्म जरिवाना र एक वर्षसम्म कैदको व्यवस्था गरेको छ ।









