उदयपुर । आर्थिक अवस्था कमजोर उदयपुरको कटारी नगरपालिका ५ सिसाघारीका मृगौला पीडित २३ वर्षिय अमित आलेमगरलाई उपचारको लागि नगरपालिकाले १ लाख ५० हजार सहयोग गर्ने निर्णय गरेको छ । आइतबार बसेको कटारी नगरपालिकाको कार्यपालिका बैठकले सो निर्णय गरेको हो ।
दुवै मृगौला फेल भएर हाल टिचिङ अस्पताल महराजगंज काठमाडौंमा उपचाररत रहेका विरामीको मृगौला प्रत्यारोपण गर्नको लागि कटारी नगरपालिकाले आर्थिक सहयोगको निर्णय गरेको मेयर ज्ञानेन्द्र श्रेष्ठ (काजी) ले जानकारी दिए । गम्भीर प्रकृतिका रोग लागेर मृत्यु शैयामा रहेको कसैको ज्यान बच्न सक्छ भने नगरपालिकाले त्यस्ताका लागि सदैव आर्थिक सहयोग गर्न तयार रहेको मेयर श्रेष्ठले बताए । ‘पैसा हुनेले आफ्नो उपचार आफै गर्छ तर, एक कठ्ठा जग्गामा गुजारा गरेर आईरहेको मानिसले कहाँबाट ७ लाख ल्याउँछ ?, तसर्थ नगरपालिकाले सहयोग गरेको हो’, उनले थपे, ‘विपन्न, गरिव, आर्थिक अवस्था कमजोर परिवारमा गम्भिर प्रकृतिकको रोग लागेमा सरकारले नै निःशुल्क गरिदिन अनुरोध गर्दछु ।’
यस अधिका दिनहरुमा पनि विपन्न, गरिव, आर्थिक स्थिति कमजोर विरामीहरुको लागि सहयोग गर्दै आएको मेयर श्रेष्ठले जानकारी दिए ।
कटारी नगरपालिकाले १ लाख ५० हजार सहयोग गरेको प्रति नगरपालिका परिवारलाई मृगौला पीडितका बुवा भक्तबहादुर आलेमगरले धन्यवाद दिएका छन् । उनले भने, ‘मेयर काजी सावलाई लगायत नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई पनि धेरै धेरै धन्यवाद !’
मृगौला प्रत्यारोपणको लागि चिकित्सकले करिव ७ लाख हस्पिटलमा जम्मा गर्न अनुरोध गरेको छ । उनले भने, ‘आफ्नो आर्थिक अवस्था कमजोर भएकोले आफ्न्त चिनेजानेकोसँग पनि सरसापटी लिने काम भईरहेको छ । नगरपालिकाले दिएको पैसाले पुग्दैन, सहयोगी खोजिरहेको छु, रकम उठ्ने क्रममा जारी रहेकोले सहयोग गर्ने सम्पूर्णप्रति म आभारी हुनेछु ।’
सम्बन्धित समाचार
दुवै मृगौला फेल कटारीका अमितले गरे सहयोगको अपिल

तपाईको प्रतिक्रिया