उदयपुर । उदयपुरका जनप्रतिनिधि, स्थानीय प्रशासन, सुरक्षा निकायका प्रमुख र नागरिक समाजका अगुवासहितको संयुक्त बैठकले निश्चित समयका लागि बजार खुलाउने र बैंकहरु आइतबारदेखि पुरै समय खोल्ने निर्णय गरेको छ ।
दुई दर्जनको हाराहारीमा रहेका विभिन्न बैंकका शाखाहरु लकडाउनको बेला नियमित नखुल्दा भिडभाड हुने गरेको छ । हप्तामा दुइ र तीन दिनसम्म मात्र खोल्दा सेवाग्राहीको अत्याधिक भिड हुने गरेपछि यस्तो निर्णय लिइएको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बताए ।
निश्चित समय र आलोपालो गरेर खोल्दा भिडभाडले कोरोनाको जोखिम झनै थपिएको र अहिले स्थिति केही सामान्य देखिएकाले पनि आइतबारदेखि पुरै बार खुलाउने तयारी रहेको उनले बताए । यसअघि नगरपालिकाले सूचना सार्वजनिक गर्दै दैनिक दश वटा बैंक खुल्ने तालिका सार्वजनिक गरेको थियो । सबै बैंक पुरै खूल्ने भएपछि सर्बसाधारणले लाइन बसेर भिडभाड हुन नपर्ने अपेक्षा लिइएको छ ।
यस्तै गाईघाट बजार पनि विहान ६ बजेदेखि ११ बजेसम्म खुल्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नागरिकहरुको जनजीवनलाई केही सहज बनाउन होटेल, लज, रेस्टुरेन्ट, पार्टी प्यालेस, पार्लर, सैलुन बाहेकका खाद्य तथा दैनिक उपभोग्यबस्तु, जुत्ताचप्पल, कपडा पसल, हार्डवेयरका पसल खोल्न दिएको प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले बताए । विकास निर्माणका कामहरु धमाधम भइरहेकाले हार्डवयर पसललाईसमेत खोल्नु अनुमति दिइएको उनको भनाई छ । सर्बसाधारणले आफुलाई आवश्यक पर्ने कुराहरु विहान ११ बजेसम्ममा खरिदगरी सक्नु पर्ने र ब्यापारीहरुले तोकिएकै समयमा कारोवार गरेर बन्द गर्नुपर्ने गरी बजार खोलिएको उनको भनाई छ ।
व्यापारीलाई समय पालना गराउने र उपभोक्ताहरुलाई सामाजिक दुरी, मास्क, सेनिटाइजर प्रयोग जस्ता कुराको व्यवस्थापन त्रियुगा उद्योग वाणिज्य संघले गर्ने र लकडाउनको पालना भए नभएको, बजारमा कोरोनाप्रतिको सतर्कता अपनाए, नअपनाएको बारेमा नागरिक समाज, जनप्रतिनिधि र प्रशासनले अनुगमन गर्ने गरी सूचारु गरिएको प्रजिअ पहाडीले बताए ।

तपाईको प्रतिक्रिया