राजेन्द्र महतो, लहान । सिरहामा राहतको विषयमा झडप हुँदा गोली चलेको छ । जिल्लाको नरहा गाउँपालिका १ देविपुरमा राहत विषयमा भएको झडपमा गोली चलेको बताइएको छ ।
गाउँपालिकाकी उपाध्यक्ष गुलाब देवी चौधरीका छोरा अरविन्द चौधरीले चलाएको गोली लागेर स्थानीय ५५ वर्षीय अख्तर मण्डल घाइते भएको स्थानीयले बताएका छन् । मण्डलकाको दाहिने कञ्चटमा गोली लागेको र झडपमा उनको खुट्टा पनि भाँचिएको प्रत्यक्षदर्शीले बताएका छन् ।मण्डललाई एम्बुलेन्समा लगतै जिल्ला अस्पताल सिरहा लगिएको र त्यहाँबाट विराटनगर रिफर गरिएको बताइएको छ। उनीसँगै झडपमा गम्भीर घाइते भएका थप दुई जना गरि तीन जनालाई पनि विराटनगर रिफर गरिएको हो ।
झडपमा परी महिला र पुरुष गरी २० जना जति घाइते भएको बताइएको छ । नेपाली कांग्रेस तर्फका १२ जना तथा नेकपा तर्फका ७ जना जति घाइते भएका छन।
उनीहरु को जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको छ । नेपाली कांग्रेस तथा अन्य पार्टी निकट स्थानीयहरु राहत वितरणको विषयमा वडाध्यक्ष अशोक साहसँग कुरा गर्न वडा कार्यालय पुगेका थिए । राहत वितरणमा काखापाखा भएको भन्दै विवादले उग्र रुपलिएपछि दुई पक्षबीच झडप भएको हो ।
सोही क्रममा उपाध्यक्षका छोरा अरविन्दले गोली चलाइएको बताइएका छन् । उपाध्यक्ष चौधरी र वडाध्यक्ष साह तत्कालिन एमालेबाट निर्वाचित भएका छन् ।
दुई पक्षीय झडपमा केही व्यक्ति घाइते भएपनि गोली चलेको वा नचलेको बारे पुष्टि हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी विनोद घिमिरेले जानकारी दिए । उनले भने, ‘गोलीको हल्ला छ, तर पुष्टि भएको छैन, अनुसन्धान मै छौं । ’

तपाईको प्रतिक्रिया