उदयपुर । कोरोना भाइरस (कोभिड १९) को त्रास बढेपछि जिल्ला भित्रने स्थानीयको तथ्यांक लिन थालिएको छ । माघ ५ गते देखि चैत २७ गतेसम्ममा त्रियुगा नगरपालिकामा २६ जना मात्रै भारत लगायत तेस्रो देशबाट आएको देखिन्छ ।
त्रियुगा नगरपालिकाले चैत्र २७ गते मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयलाई पठाएको रेकर्ड नै अपुरो देखिन्छ । विदेशबाट नगर भित्र आउनेहरुमा चार महिलासहित २६ जनाको विवरण पठाईएको छ ।
त्रियुगा नगरपालिकाले पठाएको पत्रमा वडा नं. १ को ६ जना, वडा नं. ७ को ९ जना, वडा नं. ९ को ८ जना र वडा नं. १३ को ३ जनाको मात्रै विदेशबाट आएको जनाएको छ । अन्य वडाहरुमा विदेशबाट आएको विवरण उल्लेख छैन् । वडा नं. २, ३, ४, ५, ६, ८, १०, ११, १२, १४, १५ र १६ मा के कति विदेशबाट आएको त्यसको रेकर्ड नगरपालिकासँग छैन् ।
कोरोना संक्रमित २८ जनामध्ये १६ जना विदेशबाट आएका व्यक्तिहरु हुन् । १२ भारतीय जमातीको साथै भुल्केका स्थानीय चार जना पनि विदेशबाट आएको देखिन्छ तर, नगरपालिकाले तिनीहरुलाई विदेशबाट आएको सूचीमा समावेश गरेको छैन् ।
भुल्केमा फागुन १० गते दुबईबाट आएका एक जना, उर्दु पढ्न गएका एक विद्यार्थी चैत्र ७ गते, भारतको दिल्ली बैंगलौर गार्मेन्टमा काम गर्ने एक व्यक्ति चैत्र १ गते र सप्तरी सुरुङ्गा नगरपालिका ११ अरहा भजोखाका मावाली हुँदै भुल्के आएका एक युवा जो भारत गुजरातको सुरतबाट आएका छन् । नगरपालिकाले विदेशबाट आउनेहरुमा उनीहरुको नामावली मन्त्रालयमा पठाएको पत्रमा समावेश छैनन् ।
यस्तै चैत्र ४ गते कोरोना संक्रमित १९ वर्षिय युवतीसँगै विमानमा आएका त्रियुगा नगरपालिका ५ का एक युवकको पनि विदेशबाट आउनेको सूचीमा नामावली छैनन् । उनी जोर्डनबाट कतार हुँदै नेपाल आएका ती युवा होम क्वारेन्टाइनमा बसिसकेका छन् । उनी कतारबाट क्यूआर ६५२ नम्बरको कोरोना संक्रमति युवतीसँगै चढेको जहाजबाट आएका थिए ।
यस्तै त्रियुगा नगरपालिका ६ का एक युवा पनि चैत्र पहिलो हप्ता सिंगापुरबाट आएपनि उनको नाम पनि विदेशबाट आउने सूचीमा छैनन् ।
यस्तै त्रियुगा नगरपालिका ५ पूर्व टोल देउरीमा आएका ८ जना भारतीयको पनि नगरपालिकामा विदेशबाट आउनेको रेकर्डमा नाम समावेश भएको छैन् ।
जलजले सुरक्षा स्रोतका अनुसार लकडाउन अगाडी र लकडाउन पछि पनि त्रियुगा नगरपालिकामा करिव २५ जना भन्दा बढी पञ्जाबबाट आएका मुसहर समुदायको मानिस रहेको जनाएको छ । नगरपालिकाको तथ्याङ्कमा कहि कत्तै मुसहर समुदायका युवाहरु विदेशबाट आएको देखाउँदैन् ।
त्रियुगा नगरपालिकाले मुख्यमन्त्री तथा मन्त्री परिषद्लाई विदेशबाट आएको विवरणमा किन अरु वडाहरुको नामावली सामावेश नगरेको सन्दर्भमा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण विक्रम थापाका अनुसार ११ वटा वडाले अहिलेसम्म विदेशबाट आउनेको रेकर्ड नपठाएकोले समावेश नगरेको जनाएका छन् । उनका अनुसार अन्य वडाले विदेशबाट नआएको जानकारी दिएपछि २६ जनाको मात्रै विवरण मन्त्रालय पठाएको जानकारी दिए ।
सम्बन्धित समाचार









