उदयपुर । उदयपुरको भित्री मधेसको चुरे वन क्षेत्रका नदी किनारका सिमसार क्षेत्र हराउँदै गएका छन् । सिमसार क्षेत्र लोप हुँदै गएपछि त्रियुगा नदी किनारमा पाइने पानी हाँस, सिम कुखुरा, सारस, सेतो बकुल्लासमेत लोप हुँदै गएका छन् ।
जिल्लाको त्रियुगा नगरपालिकाको त्रियुगा नदीबाट सप्तकोशीसम्मका सिमसार क्षेत्रमा अहिले खेती गर्न थालिएको छ । सिमसारका जग्गा अतिक्रमणमा परेर सुख्खा र उजाड बनेका छन् । सिमसार क्षेत्रमा पाइने ठूलो संख्याका पशु पंक्षीसमेत त्यही कारणले लोप हुँदै गएको स्थानीयको भनाइ छ ।
त्रियुगा नगरपालिका–३ का ७९ वर्षिय देवल चौधरीले त्रियुगा नदीको सिमसार क्षेत्रमा पाइने सेतो बकुल्ला, सार, मयुर सरल जातका अति नै दुर्लभ चराहरू भेटिन छाडेको बताए । ‘सिमसार क्षेत्रमा पाइने सिम कुखुरालगायतका धेरै चराहरू हराइसके’, उनले भने, ‘सिमसार क्षेत्रमा अहिले खेती गर्न थालिएको छ, किन नहराओस् त ?’ नदी किनारका सिमसार क्षेत्र अतिक्रमणमा परेपछि यी चराको वासस्थान नै लोप हुँदै गएको समाज सेवी रामवती चौधरीले बताईन् । ‘सिमसार क्षेत्र नै मासिएका कारण भ्यागुता तथा माछा नै हराउन थालेका छन्’, उनले भनिन्, ‘जुन चरा तथा पंक्षीका आहारा थिए, ती नै हराएपछि यस क्षेत्रका पंक्षी विस्थापित भएका हुन् ।’
अहिले त्रियुगा क्षेत्र चरा तथा पंक्षीविहीन हुँदै जान थालेको छ । सिमसार चरा तथा पशुपक्षी विहिन बन्दै गएपछि त्रियुगा नगरपालिका ८ उत्तराई टोल देउरीको फुलवारी टोल विकास संस्थाको सिमा क्षेत्र भित्र कुनै पनि प्रजातीका चरा चुरङ्गी मार्न पाइने नियम बनाइएको संस्थाका सचिव दुर्गानन्द चौधरीले बताए । पर्यटन दृष्टिकोणले सुन्दर यस क्षेत्रमा पानीको मुहान कहिले नसुक्ने भएको, चारै तिर खोलाले छेकिएको बिचमा टापु जस्तो देखिने यो गाँउमा बिभिन्न प्रजातीका चरा चुरङ्गी पाइने गरेकोले अहिले हराउँदै जानथालेपछि चरा मार्न निषेध गरिएको सचिव चौधरीले बताए । त्रियुगा नगरपालिका– १ रुपनीका ७८ वर्षिय नारायण आचार्यले सप्तकोसी नदी हुँदै विदेशबाट आएका चरा पनि त्रियुगा क्षेत्रमा मंसिर, पुस र माघ महिनामा आउने गरेको सुनाए । ‘पहिला पहिला हिउँद लागेपछि विभिन्न चारहरू हेर्न पाइन्थ्यो’, उनले भने, ‘अहिले यहाँ पाइने चरा पनि हराइसके, उताबाट आउने पनि देखिँदैनन् ।’ त्रियुगा नदी क्षेत्र आसपासमा ठूलो सिमसार भूभाग भएको स्थानीय वृद्धवृद्धाको भनाइ छ । सिमसार अतिक्रमणले सखाप भएकाले यस क्षेत्रमा पाइने पानी हाँस, सिम कुखुरा, सारस, सेतो बकुल्ला पनि लोप हुँदै गएका हुन् । स्थानीय स्तरबाट संरक्षण तथा प्रवद्र्धनको कुनै पहल नभएको स्थानीयवासीको गुनासो छ ।

तपाईको प्रतिक्रिया