उदयपुर । माघे संक्रान्तिको चहल पलह बजारमा ह्वात्तै बढेको छ । स्थानिय बजारमा तरुल र सखरखण्डको व्यापार ह्वात्तै बढेको छ ।
अरु समयमा गाईघाटका बजारहरुमा किन्न खोज्दा पनि पाउन मुस्कील पर्ने सिमल तरुल, स्कूसका जरा, वन तरुल, हात्तीपाइले तरुल, पानी तरुल, सखरखण्ड लगायत माघे संक्रान्ति आएसंगै बजारका चोक चोकमा बेच्नको लागि प्रसस्त राखेको देखिएको छ ।

बजारका प्रत्येक चोक तथा तरकारी पसलहरुमा विक्रिको लागि तरुल, गञ्जी र पिडालु लगायतका कृर्षि उत्पादनहरु राखिएको सहजै देख्न सकिन्छ । उदयपुरको मुख्य बजारहरु गाईघाट, बेल्टार, कटारी, रामपुर, मुर्कुची लगायतका क्षेत्रहरुमा माघे संक्रान्तिका दिन खाईने कृर्षि उत्पादनहरु बिक्रिको लागि राखिएको सहजै देख्न सकिन्छ ।
माघे संक्रान्तिमा तरुल, गन्जि, घिउ, चाकु लगायतका परिकार खाने प्रचलन छ । त्रियुगा नगरपालिकाको गाईघाट बजार मात्रै नभएर मोतिगडा, बगहा, देउरी, जलजले, चुहाडे लगायतका स्थानिय बजारमा वन तरुलको मूल्य २००, सिमल तरुलको मूल्य कतै ६० त कत्तै ८० रुपैया, घर तरुल १६० रुपैया, पेडालु ८० रुपैया र सखरखण्ड ८० रुपैया प्रतिकेजीमा बेच विखन भैरहेको व्यापारीहरुले बताए । यस्ता कन्दमुलहरुमा प्रचुर मात्रामा पौस्टिक तत्व समेत पाईने हुँदा हरेकले आफ्नो घरघरमा माघे संक्रान्तिको दिन पकाउने प्रचलन समेत रहदै आएको छ ।
त्रियुगा नगरपालिका १५ खाँबु बेतेनीका मान बहादुर मगरले यस वर्ष वन तरुल प्रतिकेजी २०० रुपैयाको दरले विक्री गरेको छ । वन तरुल भेटाउन मुस्किल छ तर वन वन खोेजेर ल्याएपनि भने जस्तो मूल्य नपाएको बताए ।
उदयपुरको सदरमुकाम गाईघाट बजारहरुमा बिक्रिका लागि राखीएका कन्दमुलहरु जिल्लाको पहाडी भेग साउने, खाँबु, आँपटार, नामेटार, भुट्टार, नेपालटारको साथै छिमेकी जिल्ला खोटाङबाट समेत ल्याउने गरेको व्यापारीहरुले बताएका छन ।
यस्तै सगरमाथा कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष दुर्गानन्द चौधरीका अनुसार माघे संक्रान्तिमा तरुल खरिद विक्रीमा बढेपनि बजार समितिले कुनै मुल्य निर्धारण नगरेको बताए । उनका अनुसार तरकारीको भाउँ निर्धारण भएपनि वेमौसमी कृषि सामग्रीहरुको मूल्य निर्धारण नगरिएको बताए ।









