अर्घाखाँची । अर्घाखाँची सन्धीखर्क नगरपालिका ६ नरपानीमा भएको बस दुर्घटनामा १८ जनाको ज्यान गएको छ । सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख २१४८ नम्बरको बस सडकबाट करिब चार सय मिटर तल खस्दा १८ जनाको मृत्यु हुनुको साथै अन्य १३ जना घाइते भएको प्रहरीले जनाएका छन् ।प्रत्यक्षदर्शी मनिष अधिकारीका अनुसार बस सडकबाट ४ सय मिटर तल खसेको छ । प्रमुख जिल्ला अधिकारीले १८ जनाको मृत्यु भएको प्रदेश प्रहरी प्रमुख डीआईजी सुरेश विक्रम शाहले जानकारी दिए । घाइतेमध्ये दुई जनाको सन्धीखर्कमै उपचार भइरहेको छ भने अन्यलाई बुटवलतर्फ लगिएको छ ।
अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट डीएसपी प्रकाश विष्टको कमाण्डमा खटिएको टोलीले घाइतेको उद्दार गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।
त्यसैगरी, हुम्ला सदरमुकाम सिमकोटमा बुधबारै टिपर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । अन्य सातजना घाइते भएका जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । नाम्खा गाउँपालिकाको सन्धीखोलाबाट चालम बोकेर सदरमुकाम जाँदै गरेको लु ४ ख ३२६९ नम्बरको टिपर सडकबाट १५ मिटर तल खसेर दुर्घटना भएको हो । मृत्यु हुनेमा एकजना महिला र दुईजना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए । जिप्रका हुम्लाका अनुसार मृत्यु हुनेमध्ये नाम्खा गाउँपालिका १ हेप्काका ४५ वर्षीय छिरिङकर्मा तामाङ र त्यही ठाउँकी ३० वर्षीया नरी लामाको सनाखत भएको छ । अर्का एक पुरुषको अझै सनाखत भएको छैन । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल हुम्ला लगिएको छ ।

तपाईको प्रतिक्रिया