उदयपुर । उदयपुरमा एक सामुदायिक वन उपभोक्ता समूहले दुग्ध चिस्यान केन्द्र संचालनमा ल्याएको छ । त्रियुगा नगरपालिका १ स्थित रामजानकी सामुदायिक वन उपभोक्ता समूहले आफ्ना उपभोक्ता किसानहरुलाई लक्षित गरी बरगाछीमा दुग्ध चिस्यान केन्द्र स्थापना गरिएको हो ।
गत कात्तिक २५ गतेबाट ६ लाख ५० हजारको लागतमा निर्मित चिस्यान केन्द्र संचालनमा ल्याएको रामजानकी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष युवराज खनालले जानकारी दिए । उनका अनुसार सामुदायिक वनको आन्तरिक स्रोतबाट दुग्ध चिस्यान केन्द्र स्थापना भएपछि ६० घरधुरी जंगलमा आश्रित परिवार लाभान्वित भएको बताए । चिस्यान केन्द्रमा दैनिक २ सय ५० लिटर दुध संकलन भएर गाईघाट पठाउने गरिएको अध्यक्ष खनालले जानकारी दिए ।
अध्यक्ष खनालका अनुसार वनमा आश्रित २५ घरधुरीले जीविकोपार्जन पद्धति परिवर्तन गरी दुग्ध व्यवसाय अपनाएको र जीवनस्तर सुधार हुने अपेक्षा गरिएको छ । हरित रोजगारी सृजना भई पशुपालक किसानहरुमा उत्साहित भएको अध्यक्ष खनालले बताए । उनले भने, ‘यसरी वैकल्पिक पेशाको अनुसरणले वन संरक्षणमा पनि सकारात्मक प्रभाव परेको छ ।’
चिस्यान केन्द्र भएपछि दिनरात वन मासेर दाउरा बेचेर गुजारा गर्नु पर्ने बाध्यता हटेको स्थानीय हरेराम चौधरीले जानकारी दिए । वनमा दाउरा लिन जाँदा कति खेर वन गस्तीले समाउने डर मात्रै होइन कहिले काही दाउरा बेच्न जाँदा दाउरा नविक्दा ज्याला भन्दा कममा बेच्नु पर्ने बाध्यता रहेको थियो ।









