उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ३ मोतिगडाको सगरमाथा विकास टोलमा बुधबार साँझ चर्च भवन सहित दुई घरमा आगलागी भएको थियो ।
एक चर्चको भवन, दानबहादुर परियार र मनकुमारी राईको घरमा आगलागी हुँदा करिव ७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी विरबहादुर बुढामगरले जानकारी दिए । प्रहरीले दिएको जानकारी अनुसार दानबहादुरको घरबाट सुरु भएको आगो मनकुमारीको घर हुँदै चर्चमा पुगेको थियो ।

विद्युत सर्ट भई आगलागी भएको पीडित परिवारले बताए । सामान्य रुपमा सुरु भएको आगोले घरभित्रको ग्याँसको सिलिण्डर पड्किएपछि ठूलो मात्रामा क्षति पुर्याएको थियो । बाँसको टाटी र टिनको छानो रहेको दुई घर र सोही किसिमले बनेको चर्च भवनमा आगलागी हुँदा घरभित्र रहेका लत्ताकपडा, भाँडाकुडा, अन्नपात जलेर पूर्णरुपमा क्षति भएको छ भने चर्च भित्रको सामानहरु पनि पूर्णरुपले जलेर नष्ट भएको छ ।
आगलागीको खबर लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सुरक्षा टोली पुगेर नियन्त्रणमा खटेका थिए भने त्रियुगा नगरपालिकाको दमकल पुगेको थियो । प्रहरी, दमकल र स्थानीयको करिब १ घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणपछि अन्य घरहरु आगलागी हुनबाट जोगिएको थियो ।
पीडित परिवारलाई त्रियुगा नगरपालिका ३ नं. वडा कार्यालयले राहत सामग्री उपलब्ध गराएको छ । पीडित परिवारलाई २५ केजीको चामल, दाल, नुन, तेल, आलु लगायतका राहत वितरण गरेको वडाध्यक्ष अवधेशप्रसाद चौधरीले जानकारी दिए ।















