उदयपुर । कानून व्यवसायी इन्द्रबहादुर तामाङले बालुवा खेलाएको निहुँमा खप्पर फुटाएपछि अस्पताल भर्ना भएका सात वर्षीय बालक आयन लिम्बू १२ दिनपछि न्यूरो अस्पतालबाट डिस्चार्ज हुने भएका छन् ।
नाबालक लिम्बूको स्वास्थ्यमा सुधार देखिएपछि अस्पतालले उदयपुर अस्पतालमा डे«सिङलगातका आवश्यक स्वास्थ्य सेवा र परामर्श लिन सक्ने गरी डिस्चार्ज गर्न लागेको न्यूरो अस्पताल विराटनगरले जनाएको हो । बालकको टाउकोको हड्डि दबेको अवस्थामा रहेको अस्पतालले जनाएको छ ।
बालकलाई हेर्न जाने गंगा राईका अनुसार बालकमा मानसीक आघात पनि परेकोले बर्बराउने समस्या देखिएको छ । नाबालक लिम्बूलाई घाइते बनाएको आरोप लागेका त्रियुगा नगरपालिका वडा नम्वर १२ घर भएका कानून व्यवसायी इन्द्रबहादुर तामाङलाई घटनास्थलबाटै प्रहरीले पक्राउ गरी ज्यान मार्ने अभियोगमा मुद्दा दायर गरी अनुसन्धान गरिरहेको छ । उनी १२ दिनदेखि प्रहरी हिरासतभित्रै रहेका छन् । वकिल तामाङविरुद्ध पीडित नाबालक लिम्बूकी आमा सम्झना पाख्रिन तामाङ (योद्धा)ले जाहेरी दिएकी थिइन् ।
प्रहरी प्रमुख भीमबहादुर दाहालका अनुसार आरोपित तामाङविरुद्धको आवश्यक प्रमाण संकलन र साक्षीहरु बुझेर अनुसन्धानको कार्यविधिलाई अगाडी बढाएको बताएको छ । अनुसन्धान अधिकृतको रुपमा प्रहरी निरिक्षक विजय श्रेष्ठ खटिएका छन् । अनुसन्धान अधिकृत श्रेष्ठका अनुसार आरोपित तामाङविरुद्ध मुलुकी अपराध (संहिता) ऐन २०७४ को कुन दफा आकर्षित हुन्छ भन्ने कुराको निक्र्यौल अनुसन्धानको प्रकृया पुरा भएपछि मात्रै तय हुनेछ ।
सो घटनाको सामाजिक सञ्जालमा व्यापकरुपमा कटु आलोचना गरिएको पाइन्छ भने घटनाको विरुद्धमा आरोपित व्यक्तिलाई कानूनी कार्यवाहीको माग गर्दै उदयपुरस्थित मानवअधिकार, बालअधिकारवादी लगायतका करिब दुई दर्जन संघसंस्थाहरुले विज्ञप्ती जारी गरेका थिए । उनीहरुले नाबालकमाथि कुनै पनि बहानामा कुटपिट गर्न नहुने, बालअधिकारको रक्षा गर्न सबै जना सजग भई अघि बढ्नु पर्ने बताएका थिए ।
बालबालिका सम्वन्धी ऐन २०७५ को दफा ६६ को उपदफा (घ) र (ङ) मा बालबालिकालाई घर, विद्यालय वा जुनसुकै स्थानमा शारिरीक वा मानसीक दण्ड दिने वा अमर्यादित व्यवहार गर्ने, त्यसैगरी उपदफा (ङ) मा शारिरीक चोटपटक वा असर पु¥याउने कामलाई अपराध मानिएको छ भने ५० हजार रुपैयासम्म जरिवाना र एक वर्षसम्म कैदको व्यवस्था गरेको छ ।









